माडीका चारवटै मध्यवर्ती उपभोक्ता समितिहरुले मेसजाली निर्माण कार्यक्रमलाई पहिलो प्राथमिकता

228
SwadeshPost

०४ फागुन, चितवन । माडीका चारवटै मध्यवर्ती उपभोक्ता समितिहरुले चालू आर्थिक बर्षमा पि.सि.सी. वाल सहितको मेसजाली निर्माण कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेका छन् ।

पश्चिमी माडीको पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिले कूल २० लाख रुपैंया बजेटमध्ये १५ लाख रुपैंया पि.सि.सी. पर्खाल सहितको मेसजालीमा खर्च गर्दैछ । यसबर्ष माडी-२ भैरवपुरस्थित आधारभूत विद्यालयदेखि पूर्वतर्फ, पौहारी गाउँको छेउसम्म ४१० मिटर मेसजाली निर्माण हुने समितिका अध्यक्ष नारायणदत्त सापकोटा बासुले जनाउनुभयो ।

त्यस्तै, मध्य माडीको बघौंडा मध्यवर्ती उपभोक्ता समितिले मेसजालीका लागि ९ लाख बिनियोजन गरेको छ । त्यसमध्ये सिमरा गाउँमा करीब २४० मिटर पर्खाल सहितको मेसजाली र धोबाहा गाउँमा करीब ३० मिटर मेसजाली लगाइने समितिका कार्यालय सचिव बलिराम महतोले जनाउनुभयो । मध्य माडीकै रेवा मध्यवर्ती उपभोक्ता समिति, कल्याणपुरले गोपालनगर क्षेत्रमा पर्खाल सहितको मेसजाली निर्माणका लागि १३ लाख रुपैंया छुट्याएको समितिका अध्यक्ष शिव बहादुर कार्कीले जनाउनुभयो ।

उता, पूर्वी माडीको अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिले ४१० मिटर मेसजाली निर्माणका निम्ति १३ लाख रुपैंया छुट्याएको छ । सो बजेटबाट माडी-९, कृष्णनगरदेखि राइटोलसम्म पि.सि.सी. (पर्खाल) सहितको मेसजाली लगाइने समितिका अध्यक्ष शिवजी गायकले जनाउनुभयो । चितवन राष्ट्रिय निकुञ्जले यसबर्ष अघिल्लो बर्षको तुलनामा आधा मात्रै बजेट पठाएपनि स्थानीय उपभोक्ता समितिहरु जंगली जनावरहरुबाट हुनेगरेको जनधन र बालीनालीको क्षती रोक्न भन्दै मेसजालीमा केन्द्रीत भएका हुन् ।

SwadeshPost