शैक्षिक योग्यताको कारण देखाउँदै पदबाट राजिनामा

166
SwadeshPost

०६ चैत, चितवन । बाँदरझुलास्थित आधारभूत विद्यालयका प्रधानाध्यापक आशिष गोपाल (ए.जी.) परियारले शैक्षिक योग्यताको कारण देखाउँदै पदबाट दिनुभएको राजिनामा स्वीकृत भएको छ ।

साविकमा आधारभूत तह (कक्षा ८ सम्म) मात्र सञ्चालनमा रहेको सो विद्यालयमा चालू शैक्षिक सत्रबाट माध्यमिक तह सञ्चालन भएसंगै परियारले राजिनामा दिनुभएको थियो । उहाँले गत कार्तिक २७ गते दिनुभएको राजिनामा विद्यालय व्यवस्थापन समितिको चैत २ गतेको बैठकले स्वीकृत गरेको हो । परियारको राजिनामा स्वीकृत भएसंगै शिक्षक दीपेन्द्र कुमार शर्माले नयाँ प्रधानाध्यापकको कार्यभार सम्हाल्नुभएको छ ।

परियारको राजिनामा स्वीकृत गर्ने सन्दर्भमा उहाँमा १० जोड २ तहको मात्रै शैक्षिक योग्यता देखिएको र शिक्षक शर्माको शैक्षिक योग्यता स्नातक रहेको नोट गरिएको छ । तर स्थानीयबासीहरुले भने विद्यालय व्यवस्थापन समिति र परियारको असमझदारीका कारण राजिनामा आएको बुझ्ने गरेका छन् । व्यवस्थापन समितिसंगको विवादकै कारण परियार विगत २ बर्षदेखि प्रधानाध्यापकको कुर्चीमा नबसी बाहिरैबाट कार्यसम्पादन गर्दै आउनुभएको थाहा भएको छ ।

SwadeshPost