माडी २ वडा कार्यालयले मगोई नदी किनारको ४ बिगाहा जमीनमा खेल मैदान बनाउने

562
SwadeshPost

०६ चैत , चितवन । माडी नगरपालिका २ नं. वडा कार्यालयले लौगाई गाउँस्थित मगोई नदी किनारको ४ बिगाहा जमीनमा खेल मैदान बनाउने भएको छ ।

माडी ठोरी हुलाकी सडकसंग जोडिएको र स्थानीय कृषकहरुले खेती गरिरहेको जमीनमै वडा कार्यालयले खेल मैदान निर्माण गर्न लागेको हो । सो स्थानमा १९१ मिटर लम्बाई र १५५ मिटरसम्म चौडाई रहेको घोलसहितको जमीन रहेकोमा त्यसलाई स्तरोन्नति गरी एक वटा फुटबल चौर, त्यसभित्रै ८ लेनको दौड्ने ट्रयाक र आवश्यकता अनुसार भलिबल एवं क्रिकेट समेत खेल्न मिल्ने चौर बनाउन लागिएको वडाध्यक्ष ईश्वरी प्रसाद ढकालले जनाउनुभयो ।

खेल मैदान निर्माणका लागि वडाले एक लाख रुपैंया बजेट छुट्याएको छ भने नगरपालिकासंग सोही शीर्षकमा छुट्टै २० लाख रुपैंया बजेट समेत रहेको छ । तर खेल मैदान निर्माणस्थलमा खेती गर्दै आएका कृषक र जग्गाधनीहरु भने वडाको निणर्यबाट निराश भएका छन् । वडा कार्यालयले उनीहरुलाई १ देखि २ कठ्ठासम्म ८ नं. पर्ती जमीन सट्टाभर्ना दिने आश्वासन दिएको छ । जग्गा उपभोग गरिरहेका कृषकहरु र वडा कार्यालयबिच सम्वाद जारी रहेको बताइएको छ ।

SwadeshPost