स्कुटरसँग ठोक्किएको बसका चालकविरुद्ध सवारी ज्यान मुद्दा दर्ता

241
SwadeshPost

१६ चैत्र, चितवन । पश्चिम चितवनको पकौडीमा भएको दुर्घटनामा स्कुटरसँग ठोक्किएको बसका चालकविरुद्ध सवारी ज्यान मुद्दा दर्ता भएको छ ।

स्कुटरसँग ठोक्किएको ना. ५ ख. २१५० नम्बरको यात्रुवाहक बसका चालक, माडी–९, गोबिन्दबस्तीका ३४ वर्षीय रमेश दुराविरुद्ध सवारी ज्यान मुद्दा दर्ता भएको हो । चालक दूरा हाल प्रहरी नियन्त्रणमा रहेका छन् र दुर्घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुराले चलाएको बससंग गत शनिबार साँझ ना.४० प. ७९८२ नम्बरको स्कुटर भरतपुर महानगरपालिका–२२ पकौडीमा ठोक्किएको थियो ।

दुर्घटनामा भरतपुर–६ का ४५ वर्षीय मोहन अधिकारी, उनकी छोरी १७ वर्षीया विनिसा अधिकारी र उनका दाइकी छोरी १७ वर्षीया दिविसा अधिकारीको मृत्यु भएको थियो । यातायात व्यवसायीसँग आपसी समझदारी हुन नसक्दा ढिलो गरी सोमबार उहाँहरुको देवघाटमा अन्त्येष्ठी गरिएको परिवार श्रोतले जनाएको छ ।

SwadeshPost