मुख्य र भित्री सडकहरु कालोपत्रे हुँदै गएसंगै माडीमा सवारी दुर्घटना क्रम बढ्यो

श्रावणदेखि चैतसम्म दुर्घटनाबाट १० जनाको मृत्यु, १९ जना गम्भीर घाइते

443
SwadeshPost

१ बैशाख, चितवन । मुख्य र भित्री सडकहरु कालोपत्रे हुँदै गएसंगै पछिल्लो समय माडीमा सवारी दुर्घटना क्रम बढेको छ ।

ईलाका प्रहरी कार्यालय माडीको तथ्याङ्क अनुसार गएको ३ महिना यता १५ वटा ठूला दुर्घटनामा परि ५ जनाले ज्यान गुमाएका छन् भने १० जना गम्भीर घाइते भएका छन् । त्यस्तै, गत श्रावण महिनादेखि हालसम्म सवारी दुर्घटनामा परि १० जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् ।

मोटरसाइकल, अटो तथा अन्य सवारी सहित चालु आर्थिक वर्षमा मात्रै माडीमा ३० वटाभन्दा धेरै दुर्घटना भएका छन् । माडी प्रहरीका अनुसार सबैभन्दा बढी दुर्घटना चालककै लापरबाहीले हुने गरेको छ । तीब्र गतिमा सवारी चलाउने, मादक पदार्र्थ सेवन (मापसे) गरी सवारी गुडाउने, अनावश्यक ओभरटेक गर्ने, बिना लाइसेन्स सवारी चलाउने तथा हेलमेट नलगाई मोटरसाइकल चलाउने लगायतका कारण सडक दुर्घटना हुँदै आएको छ ।

माडीमा बढ्दो दुर्घटनालाई न्युनिकरण गर्न ट्राफिक सचेतनामुलक कार्यक्रम सञ्चालन र ट्राफिक चेकजाँचलाई कडाइका साथ लागु गरिएको इलाका प्रहरी कार्यालय माडीका प्रम्ुख झलक शर्माले बताउनुभयो । माडीमा यसका अलावा मुख्य सडकमा सिसिटिभि, घुम्ती सडकमा कन्भेक्स मिरर, स्ट्रीट लाइट, सडक अवस्थावारे जानकारी दिने संकेत तथा जानकारीमुलक बोर्डहरुको पनि आवश्यक देखिएको उहाँको भनाइ छ । सडक दुर्घटना न्युनिकरणको लागि आवश्यक पुुर्वाधार तथा बजेट उपलब्ध नहुँदा आन्तरिक श्रोत साधन मात्रै दुर्घटना न्युनिकरणका लागि अपुग रहेको सुरक्षा संयन्त्रको भनाई छ ।