राम मन्दिर निर्माणका लागि ८ लाख रुपैंया विनियोजन गर्ने माडी नगरपालिकाको निर्णय

166
SwadeshPost

३ बैशाख, चितवन । माडी नगरपालिका कार्यपालिका बैठकले प्रस्तावित अयोध्याधाममा मन्दिर लगायतका संरचनाहरु निर्माणका लागि ८ लाख रुपैंया विनियोजन गर्ने निर्णय गरेको छ ।

नगरपालिकाको आकस्मिक कार्यपालिका बैठकले बागमती प्रदेश सरकारबाट मन्दिर निर्माणका लागि प्राप्त हुने बजेटबाट सोधभर्ना (पुरताल) हुनेगरी तात्कालीन निर्माणकार्यको लागि ८ लाख रुपैंया बजेट छुट्याएको हो । त्यसैगरी आउँदो बैशाख ८ गते रामनवमी पर्वको दिन राम, सीता, लक्ष्मण र हनुमानको मुर्ती स्थापना कार्यक्रममा सहभागिताका लागि सबैमा आग्रह गर्ने समेत निर्णय गरेको कार्यपालिका प्रवक्ता शिवहरि सुवेदीले जनाउनुभयो ।

यसैबिच, माडी नगरपालिका कार्यपालिका सदस्यहरु र अयोध्याधाम व्यवस्थापन समितिको सचिवालय सदस्यहरुको संयुक्त बैठकले मुर्ती स्थापनापूर्व भव्य शोभायात्रा प्रदर्शन गर्ने निर्णय गरेको छ । संयुक्त बैठकले रथयात्रासहित मुर्तीहरु माडी प्रवेश गरेसंगै बाटोमा कलश सहित फुलमालाले स्वागत गर्ने, बाटोमा धुलो नियन्त्रणका लागि अग्रिम रुपमा पानी छर्किने, भजन मण्डली, पञ्चेबाजा र साँस्कृतिक पोशाक सहितको पदयात्रा र झाँकी प्रदर्शन गर्ने लगाायतको निर्णय गरेको अयोध्याधाम व्यवस्थापन समितिका संयोजक तथा पूर्वसांसद तीर्थराज भुसालले जनाउनुभयो ।

SwadeshPost