गोर्खाप्रेनियर फाउन्डेसशनले माडीका व्यवसाय उन्मुख बिपन्नहरूलाई घुम्ती बीउपुँजी उपलब्ध गराउँदै

303
SwadeshPost

४ बैशाख, चितवन । माडी-३ बघौंडाकी एकल महिला लीला क्षेत्री महतोलाई २ सन्तान हुर्काउन असाध्य कष्ट थियो । निर्माण मजदुरको काम गरेपनि बिपन्न परिवारकी उहाँलाई बालबच्चा पढाउन र घरव्यवहार चलाउन असहज थियो । तर उहाँमा सानै स्तरको भएपनि आफ्नै व्यवसाय सञ्चालन गर्ने ठूलो इच्छाशक्ति भने मजबूत थियो ।

यस्तैमा, लीलाको अवस्थाबारे जानकारी पाउनुभएका सञ्चारकर्मी देव अञ्जान शाह र संयुक्त अधिराज्य (बेलायत)मा व्यवसाय गरिरहनुभएका गोर्खाप्रेनियर फाउन्डेसशनका प्रमुख अभियन्ता कृष्ण गुरुङबिच माडीका व्यवसाय उन्मुख महिलाहरुलाई घुम्ती बीउपुँजी उपलब्ध गराई सहयोग गर्ने छलफल पश्चात निब्र्याजी रुपमा व्यवसाय उन्मुख महिलाहरुलाई २ बर्षका लागि रु ३० हजार प्रदान गर्ने र त्यसपछि सो रकम अर्का सम्भाव्य व्यवसायीलाई हस्तान्तरण हुँदै जाने मोडलबाट फाउण्डेशनका प्रणेता गुरुङले पहिलोपटक लीलालाई रु ३० हजार प्रदान गर्नुभयो ।

बीउपुँजी रकमबाट लीलाले ठेलागाडा बनाई चटपट र पानीपुरी बेच्न सुरु गर्नुभयो । व्यवसाय बढ्दै गएसंगै माडी-३ बघौंडा गाउँमा उहाँले घुम्ती पसल सुरु गर्नुभयो । हाल उहाँले सो व्यवसायबाटै एकवटा घर निर्माण गरिसक्नुभएको छ भने खाजाघर सञ्चालनको तयारी गर्नुभएको छ । र घुम्ती बीउपुँजी आफूजस्तै एक सम्भाव्य व्यवसायीलाई हस्तान्तरण समेत गर्नुभएको छ ।

बिहीबार सम्पन्न रकम हस्तान्तरण कार्यक्रममा फाउण्डेशनका तर्फबाट माडी-५ निवासी संगिता लामिछाने र यमुना विश्वकर्मा एवं माडी-९ गणेशकुञ्ज निवासी उदय परियारलाई ३०/३० हजार रुपैंया घुम्ती बीउपुँजी हस्तान्तरण गरिएको छ । सानो लगानीबाट पनि व्यवसाय सुरु गरी आत्मनिर्भर हुन सकिन्छ भन्ने भावसहित यस अभियान चालिएको फाउण्डेशनका प्रमुख अभियन्ता गुरुङले बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै माडी-५ का वडाध्यक्ष रामबन्धु पोखरेलले लामिछाने र विश्वकर्मालाई वडा कार्यालयका तर्फबाट १०/१० मिटर मेसजाली प्रदान गर्ने प्रतिवद्धता जनाउनुभयो ।

SwadeshPost