कोरोनाका कारण बिक्रमबाबाको पूजा निरन्तरताका निम्ति क्षमापूजाका रुपमा सम्पन्न

345
SwadeshPost

७ बैशाख, चितवन । चैतेदशैंको अवसरमा हरेक बर्ष हुँदै आएको बिक्रमबाबाको पूजा यसबर्ष समेत निरन्तरताका निम्ति क्षमापूजाका रुपमा सम्पन्न भएको छ ।

परम्परागतरुपमा चलिआएको बिधिअनुरुप बिक्रमबाबामा पकडीका थारु गुरौ ठगाई महतोले पूजा गरी समाज, कुल, वंश र सम्पूर्ण मानव जातिको रक्षा तथा महामारी रोग नियन्त्रणको कामना गर्नुभयो । पूजामा गुरौसंगै थारु कल्याणकारिणी सभा चितवनका पदाधिकारीहरु तथा जिल्ला समन्वय समिति प्रमुख कृष्ण डल्लाकोटी, चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, चितवनका सुरक्षा अंग प्रमुखहरु एवं चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालको बिशेष उपस्थिति रहेको थियो ।

चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको बिक्रमबाबा शक्तिपीठमा विगतका बर्षहरुमा पूजासंगै ठूलो मेला लाग्ने गरेकोमा गतबर्ष र यसबर्ष कोरानाका कारण मेला भने स्थगित रह्यो । पहिले आदिबासी थारु समुदायले मात्रै पुजा गर्ने बिक्रमबाबा पछिल्लो समयमा अधिकांशको आस्थाको केन्द्रबिन्दु बनेका छ । कोरोना नियन्त्रणका लागि सरकारले मेला महोत्सव लगायत २५ जनाभन्दा धेरैजना एकैसाथ भेला हुन रोक लगाएसंगै बिक्रमबाबा मेला रोकिएको हो ।

SwadeshPost