कोरोना संक्रमण बढेसंगै माडीमा ‘फिवर टेस्ट तथा आईसोलेसन सेन्टर’ निर्माण हुँदै

481
SwadeshPost

२३ बैशाख, चितवन । कोरोना संक्रमण बढेसंगै माडी नगरपालिकाले साविकमा कृषि शाखा रहेको भवनमा ‘फिवर टेस्ट तथा आईसोलेसन सेन्टर’ निर्माण सुरु गरेको छ ।

बघौंडा अस्पतालको मातहत रहने गरी फिवर टेस्ट सहित आइसोलेशन सेन्टर स्थापना भैरहेको नगर स्वास्थ्य शाखाले जनाएको हो । सो सेन्टर प्रमुखको जिम्मेवारीमा डा. आलोक कुमारलाई दिइएको छ भने उहाँलाई परीक्षण कार्यमा सघाउन बघौंडा अस्पतालमा प्रयोगशाला (ल्याव) सेक्सनमा कार्यरत स्वास्थ्यकर्मी विशाल पण्डितलाई जिम्मेवारी दिईएको छ । त्यहाँ ६ बेडको आइसोलेशन उपचार केन्द्र सञ्चालन गरिने र त्यसभन्दा धेरै केसहरु माडी-५, छरछरेस्थित नवनिर्मित रिसोर्ट भवनमा राखिने जनाइएको छ ।

यसैबिच, माडीका नगर प्रमुख ठाकुर प्रसाद ढकालले वर्तमान सम्वेदनशील अवस्थामा थप जिम्मेवार बन्दै निशेधाज्ञाको पूर्ण पालना गर्न र भौतिक दुरी कायम गर्न सबै नगरवासीहरुमा अनुरोध गर्नुभएको छ । कोरोना पोजेटिभ भई होम आईसोलेसनमा रहेकाहरुलाई मनोबल उच्च बनाउन आग्रह गर्दै उहाँले सुरक्षित तवरबाट स्वास्थ्यकर्मीको नियमित सम्पर्कमा रहन र अप्ठेरो महसुस भएमा तुरून्तै नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न आग्रह गर्नुभएको हो ।

SwadeshPost