पर्साको ठोरी गाउँपालिकाले अक्सिजन सहितको आइसोलेसन उपचार केन्द्र स्थापना

365
SwadeshPost

०३ जेठ, चितवन । पर्साको ठोरी गाउँपालिकाले अक्सिजन सहितको आइसोलेसन उपचार केन्द्र बनाएको छ । गाउँपालिकाले ठोरी-४, घ्याङडाँडामा २० बेडको अक्सिजन सहितको आइसोलेसन तयार गरेको हो । गाउँपालिकाका अध्यक्ष पदमलाल (पिएल) श्रेष्ठले गाउँपालिकाले संक्रमणको जोखिमलाई ध्यान दिंदै २० वटा अक्सिजन सिलिण्डरसहित २० बेडको आइसोलेसन बनाइएको बताउनुभयो । त्यसैगरी आइसोलेसन सेन्टरमा वायुमण्डलमा रहेको अक्सिजनलाई तान्ने र प्रशोधन गरेर संकलन गर्ने ‘अक्सिजन कन्सन्ट्रेटर मेसिन’समेत जडान गर्न लागिएको श्रेष्ठले जानकारी दिनुभयो ।

अक्सिजन सपोर्ट आवश्यकता पर्ने संक्रमितहरुलाई सो आइसोलेसन केन्द्रमा ल्याएर राखिने तर, अक्सिजन सपोर्ट आवश्यक नपर्ने बिरामीहरुलाई भने घरमा नै ‘होम आइसोलेसन’मा राख्ने गाउँपालिकाको सर्कुलर छ । कोभिडका बिरामीका निम्ति एकवटा निःशुल्क एम्बुलेन्स र ननकोभिड बिरामीलाई दिइने सेवाका निम्ति अन्य दुईवटा एम्बुलेन्स संचालनमै रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । यस्तै लक्षण देखिएका तथा संक्रमण पुष्टि भएर संक्रमितको सम्पर्कमा आएकाहरुको पिसिआर र एन्टिजेन विधिमार्फत कोरोना परिक्षणसमेत निःशुल्क रुपमा गर्दै आएको अध्यक्ष श्रेष्ठको भनाई छ ।

SwadeshPost