प्रतिनिधिसभा बिघटनलाई भर्त्सना गर्दै नेपाली काँग्रेस, माडी नगरद्वारा बिरोधमा लाग्न आह्वान

178
SwadeshPost

१४ ज्येष्ठ, चितवन । दोश्रोपटक प्रतिनिधिसभा बिघटनको घटनालाई भर्त्सना गर्दै नेपाली काँग्रेस, माडी नगर समितिले त्यसको बिरोधमा लाग्न आह्वान गरेको छ ।

नगर सभापति कोमलनाथ भुसाल र सचिव लोकनाथ लामिछानेले संयुक्त हस्ताक्षरित वक्तव्य प्रकाशित गर्दै स्वास्थ्यको ख्याल राखी विभिन्न तरिकाबाट विरोधमा लाग्न सार्वजनिक आग्रह गर्नुभएको हो । मध्यरातमा संसद भंग हुनुअघि भएका घटनाहरुलाई वक्तव्यमा शंकास्पद र भ्रमपूर्ण रहेको जिकीर गरिएको छ ।

संसद बिघटन प्रकरणबाट लोकतन्त्र कमजोर हुनुका साथै प्रधानमन्त्री र राष्ट्रपति समेत अलोकतान्त्रिक, निरंकुश र तानाशाही बाटोमा हिड्न खोजेको प्रमाणित भएको काँग्रेस नगर समितिको ठहर छ । सो निर्णयलाई ‘असंवैधानिक, अलोकतान्त्रिक, सर्वसत्तावादी’ कदम भन्दै काँग्रेसले निर्णय सच्याउँदै देशलाई संविधानवादको लोकतान्त्रिक दिशामा फर्काउन सबै राजनैतिक दल, नागरिक समाज, मानव अधिकारकर्मी, बुद्धिजीवि, उद्योगी, व्यापारी लगायत सम्बन्धित सबैमा अनुरोध गरेको हो ।

SwadeshPost