आफू र प्रचण्डको बदनामी गर्ने मनसायबाट शाहीले बेरुजु सम्बन्धी भिडियो बनाए : मेयर ढकाल

533
SwadeshPost

१५ ज्येष्ठ, चितवन । माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले आफूसहित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको बदनामी गर्ने मनसायबाट ज्ञानेन्द्र शाहीले बेरुजु सम्बन्धी भिडियो बनाएको जिकीर गर्नुभएको छ ।

‘नेपालका लागि नेपाली अभियान’ सम्बद्ध अभियन्ताका रुपमा चिनिने शाहीले राजनैतिक पूर्वाग्रहसहित माडी नगरपालिकामा ठूलो रकम बेरुजु देखाएको नगरप्रमुख ढकालको दावी छ। स्वदेशसंग कुराकानी गर्दैै ढकालले पुराना बेरुजुहरु फर्स्याैट भैसकेको र नगरपालिकामा ‘चालू’ अर्थात कर्मचारी परिचालन र कार्यालय खर्च केवल १०.६६ प्रतिशतमै सीमित रहेको बताउनुभएको हो ।

आफूहरु निर्वाचित भएर आउनुअघि आ.व. २०७४/७५मा कर्मचारीहरुले नगरपालिका चलाउँदा १७ करोड बेरुजु रहेकोमा अर्को आ.व. २०७५/७६ मा बेरुजु रकम १० करोडमा झारिएको नगरप्रमुख ढकालको भनाई छ । त्यसबेला डेढ करोड बजेटमा विद्यालय भवन बनेको तर पुरै कागजात पेश नभएकाले बेरुजु देखिएको उहाँले जनाउनुभयो । त्यस्तै, मगोई खोला तटबन्धन कार्यमा एउटै व्यक्ति एकै आ.व.मा दुईपटक उपभोक्ता समिति अध्यक्ष रहँदा योजना निर्माण सम्पन्न भएपनि करीब २ करोड बेरुजुमा परेको उहाँले बताउनुभयो । नगरपालिकाका जनप्रतिनिधीहरुको नाउँमा बेरुजु नरहेको र आफूहरु निर्वाचित हुँदाको आन्तरिक आय ६० लाख मात्रै रहेकोमा हाल बढेर २० करोडभन्दा माथि पुगेको पनि उहाँको भनाई छ ।

भ्रष्टाचार बिरोधी अभियन्ता शाहीले डेढ बर्षअघि सार्वजनिक गर्नुभएको एक भिडियोमा आ.व. २०७४/७५ र २०७५/७६ मा माडी नगरपालिकाले कूल बजेटमध्ये चालु र अन्य शीर्षकमा गरेको खर्च केलाउँदै बेरुजु देखाइएको थियो । भिडियोमा आ.व. २०७४/७५ मा कुल ५७ करोड ४२ लाख बजेटमध्ये १७ करोड ९४ लाख र आ.व. २०७५/७६ मा कुल ६७ करोड ७३ लाख बजेटमध्ये १० करोड २० लाख रुपैंया बेरुजु रहेको देखाउँदै त्यसको खोजी गर्न माडीबासीहरुलाई आग्रह गरिएको थियो ।

SwadeshPost