भू-माफिया समूहले माडीमा खरिद मुल्यभन्दा दशाैं गुणा बढी मुल्य लिई जमीन बिक्री गर्दै

294
SwadeshPost

२० ज्येष्ठ, चितवन । जग्गा दलाल र भू-माफिया समूहले माडीको धोबाहा, रतनी र पौहारी लगायतका गाउँमा खरिद मुल्यभन्दा दशाैं गुणा बढी मुल्य लिई खेतीयोग्य जमीन बिक्री गर्ने गरेको खुलेको छ ।

भू-माफिया समूहले मगोई र रीउ नदीको बाढीको कारण बिस्थापित हुनुपरेका माडी-२, भैरवपुर तथा माडी-३, धोबाहा, रतनी र पौहारी लगायतका गाउँका जग्गाधनी कृषकहरुबाट प्रतिकठ्ठा चालिस हजारदेखि एक लाखसम्म र खोलाभन्दा केहि भित्री जमीन बढीमा प्रतिकठ्ठा तीन लाख रुपैंयासम्ममा खरिद गरेका छन् । सो खरिद कार्य मिलाउनमा स्थानीय अगुवा र जग्गा दलालदेखि जनप्रतिनिधीहरुले समेत नजराना बुझ्ने गरेको स्थानीयबासीहरुको आरोप छ । तर पछि भू-माफिया समूहले राजधानी काठमाडौंका खरिदकर्ताहरुलाई सोही जमीन प्रतिघडेरी (आधा कठ्ठा जमीन) दशौं लाख रुपैंयासम्म लिएर बिक्री गर्ने गरेको पाइएको हो ।

जमीन बिक्रीका लागि भू-माफिया समूहले हालसम्म निर्माण नै नभएको ठोरी केरुङ लोकमार्ग र काल्पनिक माडी रिङरोड सडकदेखि माडीका पर्यटकीय स्थानका तस्वीरयुक्त आकर्षक पोस्टर सहितको प्रचारबाजी गरेको खुलेको छ । श्रव्यदृश्य कलाकारितामा आवद्ध सेलिब्रिटी छवि समेत रहेका भू-माफियाहरुले राजधानीका सम्भाव्य ग्राहकहरुलाई पर्यटक बसमा चढाई माडीसम्म ल्याई भ्रमण गराउने र जमीन बिक्री गर्ने गरेका हुन् । यस क्रममा हालसम्म माडीको सयौं बिगाहा जमीन बिक्री भइसकेको बुझिएको छ । (तस्वीरः जग्गा बिक्रीका लागि प्रयोग भएको प्रचार सामग्री)

SwadeshPost