बागमती प्रदेश सरकारले अयोध्याधाम केन्द्रीत योजना र कार्यक्रमहरु सार्वजनिक

478
SwadeshPost

असार ०२,चितवन । बागमती प्रदेश सरकारले माडीका लागि अयोध्याधाम केन्द्रीत योजना र कार्यक्रमहरु सार्वजनिक गरेको छ ।प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले आगामी आर्थिक वर्ष २०७८/०७९ का प्रस्तुत गर्नुभएको बजेट र कार्यक्रमहरुको सुचिमा माडीको अयोध्याधाम अँटाएको हो । बजेट भाषणका क्रममा उहाँले ‘संघीय सरकारको समन्वयमा अयोध्यापुरीलाई ऐतिहासिक धार्मिक तथा पर्यटकीय शहरको रुपमा विकास गर्न गुरुयोजना तयार गर्नका लागि बजेटको व्यवस्था गरिने’ बताउनुभयो ।

त्यसैगरी खरकट्टास्थित हुलाकी सडकदेखि बैकुण्ठतालसम्म पुग्ने बैकुण्ठमार्ग निर्माण गर्न, माडी ८ वडा कार्यालयको पश्चिमपट्टी अयोध्या बाटिका बनाउन तथा बैकुण्ठ क्षेत्रस्थित चौर वा बाह्रघरे गाउँमा रामसीता उद्यान तयार गर्न पनि प्रदेश सरकारले बजेटको व्यवस्था गरेको हो । यसबाहेक नदी व्यवस्थापन तथा माडी ९, बाँदरझुलामा निर्माण हुने हनुमानझुला निर्माणका लागि समेत बजेट छुट्याएको मन्त्री ढुंगेलले सार्वजनिक गर्नुभयो ।बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि कुल कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो । त्यसमध्ये माडीका लागि केकति बजेट विनियोजित गरिएको छ, त्यो भने सार्वजनिक भएको छैन ।

SwadeshPost