माडी नगरपालिकाले बागमती प्रदेश सरकारसंगको समन्वयमा आगामी आर्थिक बर्षमा ३ वटा सडक कालोपत्रे गर्ने

173
SwadeshPost

१२, असार चितवन । माडी नगरपालिकाले बागमती प्रदेश सरकारसंगको समन्वयमा आगामी आर्थिक बर्षमा ३ वटा सडक कालोपत्रे काम गर्ने भएको छ ।नगरपालिकाको नगरसभाले माडी १ र २ मा अम्बावासदेखि कुन्तीपुर सितलपुर सडक कालोपत्रे, माडी ८ मा खरकट्टा गेटदेखि शिबद्वार हुँदै घाँघर पुलसम्म सडक कालोपत्रे र माडी ५ मा रमाइलोडाँडास्थित दराई चोकदेखि शिवालय चोकसम्म सडक कालोपत्रे गर्ने निर्णय गरेको हो । प्रदेश सरकारको समपुरक अनुदान शिर्षकमा निर्माण हुने सो सडकहरुका लागि नगरसभाले ६ करोड बजेट विनियोजन गरेको हो ।

यसबाहेक नगरसभाले गत वर्ष बोलपत्र आव्हान भई निर्माण सम्पन्न हुन नसकेका सडक योजनाहरुको निरन्तरताका लागि बजेट व्यवस्था गरेको छ । यसरी करीब १० किलोमिटर सडक कालोपत्रेको योजना रहेको माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले जनाउनुभयाे । त्यस्तै, माडी-२ स्थित सहिदपार्कको पूर्वाधार विकासका लागि छुट्टै १० लाख रुपैंया बजेट विनियोजन भएको छ ।

SwadeshPost