माडी नगरपालिकाले आर्थिक बर्ष २०७८/७९ मा शिक्षाजन्य आधा दर्जन लोकप्रीय कार्यक्रमहरु

270
SwadeshPost

१२, असार चितवन । माडी नगरपालिकाको सातौं नगरसभाले पारित गरेकाे आगामी आर्थिक बर्ष २०७८/७९ को नीति तथा कार्यक्रमहरूमा शिक्षाजन्य आधा दर्जन लोकप्रीय कार्यक्रमहरु समेटिएको छ । नगरसभाले पारित गरेका कार्यक्रमहरुमा निःशुल्क बुहारी शिक्षा, बिपन्न वर्गका लागि निःशुल्क उच्च शिक्षा र निःशुल्क प्राविधिक शिक्षाजस्ता कार्यक्रमहरु रहेका छन् । स्वदेशसंग कुराकानी गर्दै माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले ‘शिक्षित माडी अभियान’ अन्तरगत आगामी आर्थिक बर्षमा चेपाङ, बोटे, दराई र कुमाल विद्यार्थीहरुलाई स्नातकोत्तर तहसम्म निःशुल्क पढाउने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

त्यसैगरी कक्षा १२ उत्तीर्ण गरी माडी क्याम्पसमा पढिरहेका वा पढ्न आउने सबै बुहारीहरुलाई समेत स्नातकोत्तर तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गरिएको छ । उनीहरुले क्याम्पसमा बुझाउनुपर्ने सबै शुल्कहरु माडी नगरपालिकाले नै एकमुष्ठ भुक्तानी गरिदिने नगरप्रमुख ढकालको भनाई थियो ।

त्यस्तै माडीका विद्यार्थीहरुलाई इन्जिनियरिङ, फार्मेसी, स्टाफ नर्स र हेल्थ असिस्टेन्ट जस्ता प्राविधिक बिषयहरु निःशुल्क पढ्ने व्यवस्था गरिएको पनि मेयर ढकालले जानकारी दिनुभयो । यसका लागि दिवाकर स्मृति प्राविधिक शिक्षालयमा थप स्टाफ नर्स र एच.ए. बिषयको अध्यापन छिट्टै सुरु हुन लागेको उहाँले बताउनुभयो ।

SwadeshPost