

१२, असार चितवन । महालेखापरीक्षकको प्रतिवेदनमा दोहोरो सुबिधा लिएको देखिएका माडीका जनप्रतिनिधीहरुले पेन्सन भन्दा बढी हुन आउने रकम मात्रै नगरपालिकाबाट भुक्तान लिएको बताएका छन् । नगरपालिकाबाट आफूहरुले पाउने तलब रकममा पेन्सनस्वरुप पाउने रकम घट्नेगरी भुक्तानी लिएको माडी नगरपालिकाका प्रवक्ता शिवहरि सुवेदीले जनाउनुभयो । यसको लागि आफूहरुले पेन्सन पट्टा नै नगरपालिकाको लेखामा बुझाएको, तर पेन्सन पट्टा राखेको भेटिएसंगै लेखापरीक्षकले त्यसलाई सैद्धान्तिक बेरुजूमा राखिदिएको उहाँले बताउनुभयो ।

माडी नगरपालिकामा वडाध्यक्षहरु शिवहरि सुवेदी, कृष्णराज अधिकारी, बालकृष्ण सापकोटा, चन्द्रदीप महतो र ईश्वरी ढकाल तथा वडा सदस्य विश्वनाथ महतो पूर्व शिक्षकका रुपमा पेन्सन सुबिधा पाउने जनप्रतिनिधी हुन् । यसबाहेक आफूहरुलाई थाहै नदिइ लेखा शाखाले दशैं भत्ता हालिदिएको प्रवक्ता सुवेदीको दावी छ । सो भत्ता रकम पनि फिर्ता हुने क्रममा रहेको उहाँले बताउनुभयो ।

यसबाहेक रकमान्तर वा शीर्षकान्तर गरी काम गर्दा, सही ढंगबाट टिप्पणी नउठ्दा र पुष्ट्याँई कागज नपुग्दा कतिपय बेरुजू देखिएकोमा पछि फर्स्याैट भइसकेको प्रवक्ता सुवेदीको भनाई छ । नगरपालिकामा कोहि जनप्रतिनिधीहरुको नाउँमा रकम बेरुजू देखिए तिर्न तयार रहेको भन्दै उहाँले यसबर्षको लेखापरीक्षण प्रतिवेदन आउँदा अधिकांश बेरुजू फर्स्याैट भईसक्ने जिकीर गर्नुभयो ।
