माडीका कृषि बैज्ञानिक डा. भानेश्वर पोखरेलको कृषि फर्मले व्यवसायिक उत्पादन थाल्यो

चक्लाबन्दीमा आधारित बहुआयामिक व्यवसायिक कृषि फर्म सञ्चालनमा

1.01K
SwadeshPost

२ श्रावण, चितवन । युरोपियन देश डेनमार्कबाट प्राङ्गारिक कृषि विषयमा विद्याबारिधी (पि.एच.डी.) गरी स्वदेशमै कृषि फर्म तथा अनुसन्धान केन्द्र स्थापना गर्नुभएका कृषि बैज्ञानिक डा. भानेश्वर पोखरेलको कृषि फर्मले व्यवसायिक उत्पादन थालेको छ ।

माडीकै स्थानीयबासी रहनुभएका डा. पोखरेलले माडी-४, खैरहनी गाउँमा चक्लाबन्दीमा आधारित बहुआयामिक व्यवसायिक कृषि फर्म सञ्चालन गर्नुभएको हो । करीब ८ महिनाको खटाइबाट २२ बिगाहा क्षेत्रफलमा २ वटा नेचुरल्ली भेण्टिलेटेट प्लास्टिक घर, ५ कोठे अफिस र आबास भबन, ४ कोठे कर्मचारीको आबास घर, १८०० बर्गफ़िटको गाई-भैसी गोठ, २००० बर्गफ़िट कम्पोस्ट पिट, ७०० बर्गफ़िटको साइलो पिट, १००० बर्गफ़िटको हाँस कुखुराको खोर, १००० बर्गफ़िटको बाख्राको खोर, ९६० बर्गफ़िटको कृषि उपज संकलन केन्द्र, १३२ बर्गफ़िटको कृषि उपज बिक्रि कक्ष र १० जना क्षमताको फर्मस्टे निर्माण गरिएको उहाँले सामाजिक सञ्जालबाट जानकारी दिनुभएको छ ।

त्यसैगरी सो अवधीमै २ वटा बोरिङ्ग जडान, १ बिगाहा माछा पोखरी, ३.५ बिगाहामा थोपा सिंचाई जडान सहित ५ बिगाहामा तरकारी खेति, १० कठ्ठामा मेवा खेती, ८ कठ्ठा बेसर खेति, १ बिगाहा बहुबर्षीय घाँस लगाउने काम र ड्रागनफ्रुट, एभोकार्ड़ो, आँप, लिची, कटहर, अम्बा, कागती रोप्न २ बिगाहा जमिनको तयारी ७०० मिटर मेसजाली र तारबारका साथसाथै लगभग ४ बिगाहा जमिनमा धन रोप्ने काम समेत सम्पन्न गरिएको डा. पोखरेलले जनाउनुभयो ।

हाल, फर्मबाट तरकारी र दुध उत्पादन भैरहेको र माछा तथा मासुको उत्पादन छिट्टै बजारमा जाने डा. पोखरेलको भनाइ छ । अर्को वर्ष थप ३ बिगाहा जमिनमा थोपा सिंचाई जडान, २० जना क्षमताको फर्मस्टे को निर्माण, ५० जना क्षमताको सभाहल, ४००० बर्गमिटरको नेट हाउस र १ बिगाहा माछा पोखरी निर्माण गरि फर्मलाई प्रांगारिक कृषिको सिकाई केन्द्रका रुपमा बिकास गरिने उहाँले सार्वजनिक गर्नुभयो । फर्म स्थापनामा सघाउने संघीय, प्रादेशिक र स्थानीय सरकारसंगै सबैप्रति उहाँले कृतज्ञता व्यक्त गर्नुभएको छ ।

SwadeshPost