असार ०४, चितवन । गत असार २४ गतेको बाढीबाट प्रभावित परिवारहरुलाई नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आर.आर.एन.)ले राहत स्वरुप गैर-खाद्य सामग्रीहरु प्रदान गरेको छ ।माडी नगरपालिकाको समन्वयमा आर.आर.एन.ले माडी नगरपालिका-३ मलाही टोल, गुल्मेली टोल र बैराठ टोलका ४६ घरधुरी तथा माडी-५ का १० घर बाढीपिडितहरूलाई राहत किट हस्तान्तरण गरेको हो ।
राहत किटमा अस्थाई आवासका लागि आवश्यक त्रिपाल, डोरी, भाँडाकुँडा सेट, महिला तथा बालबालिकाका स्वास्थ्य र स्वच्छताका लागि आधारभुत उपयोगी बस्तुहरु र फिल्टर लगायतका सामग्री रहेको आर.आर.एन.का परियोजना संयोजक रबिन्द्र सिंह ठकुरीले जनाउनुभयो ।आइतबार र सोमबार छुट्टाछुट्टै कार्यक्रमबिच फरक-फरक स्थानमा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रममा परियोजनाका कर्मचारीहरुसंगै माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल, उपप्रमुख ताराकुमारी काजी महतो, वडाअध्यक्षहरु पुरन महतो र रामबन्धु पोखरेल, माडीका प्रहरी प्रमुख झलक शर्मा, रेडक्रसकर्मी भागिरथ बस्याल लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख ढकाल र उपप्रमुख महतोले राहत किटले तत्कालको अप्ठेरोलाई केही सहजता तुल्याउन मद्दत गर्ने भन्दै जोखिम र स्थानीय सरकार सदैव जनताको समस्या समाधानमा प्रयासरत रहेको बताउनुभएको थियो । कोरोना महामारीको निरन्तरको फैलावट अवस्था मध्यनजर गर्दै सुरक्षा सावधानी अपनाई सो सामाग्रीहरु वितरण गरिएको परियोजनाले जनाएको छ ।