बाढी प्रभावित ८० घरपरिवारलाई आर.आर.एन.द्वारा राहत स्वरुप गैर-खाद्य सामग्रीहरु प्रदान

297
SwadeshPost

चितवन । गत असार २४ गतेको बाढीबाट प्रभावित ८० घरपरिवारहरुलाई नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आर.आर.एन.)ले राहत स्वरुप गैर-खाद्य सामग्रीहरु प्रदान गरेको छ ।

माडी नगरपालिकाको समन्वयमा आर.आर.एन.ले चरणबद्ध रुपमा माडीका ४ वटा वडाहरुमा सो संख्यामा बाढीपिडीतहरुलाई राहतस्वरुप त्रिपाल, डोरी, भाँडाकुँडा सेट, महिला तथा बालबालिकाका स्वास्थ्य र स्वच्छताका लागि उपयोगी बस्तुहरु र फिल्टर लगायतका सामग्री समेटिएको किट वितरण गरेको आर.आर.एन.का परियोजना संयोजक रबिन्द्र सिंह ठकुरीले जनाउनुभयो ।

संस्थाले आज (बिहीबार) माडी १ का ३८ र माडी २ का ७ घरधुरीलाई राहत वितरण गरेको हो । यसअघि, माडी ३ मलाही टोल, गुल्मेली टोल र बैराठ टोलका ४६ घरधुरी तथा माडी ५ का १० घर बाढीपिडितहरूलाई राहत किट हस्तान्तरण भएको थियो ।

विहीबार माडी-२ का वडाध्यक्ष ईश्वरी प्रसाद ढकाल, नेपाल रेडक्रस सोसाईटी गर्दी उपशाखा सभापति हिरा बहादुर थापा, माडी-१ का वडा सदस्य शिव कार्की र आर.आर.एन.का परियोजना संयोजक ठकुरीद्वारा संयुक्त रुपमा राहत सामग्रीहरु हस्तान्तरण गरिएको हो । विपद्को कठिन घडी सामना गरेका तथा बाढीका कारण धानवाली विनाश हुनगएका घरधुरीहरुलाई वितरित सो राहत सामाग्रीहरुले केही भरथेग गर्ने र दैनिक जिवन सहज बनाउन मद्दत गर्ने संस्थाले आशा गरेको जनाएको छ ।

SwadeshPost