२३ साउन, चितवन । माडीमा जग्गा खण्डिकरण सम्बन्धी विवादमा तानिएका कलाकार किरण के.सी. (रातामकै)ले आफू ट्वन्टीवान प्रपर्टी ग्रुपको ‘ब्राण्ड एम्बेस्डर’ मात्रै रहेको जिकीर गर्नुभएको छ ।सामाजिक सञ्जालमा पोष्ट गर्दै कलाकार के.सी.ले आफू तीन बर्षका लागि ट्वन्टीवान ग्रुपको ब्राण्ड एम्बेस्डरका रुपमा सम्झौतामा रहेको बताउनुभएको हो ।
सो ग्रुपले आफूलाई उपहार स्वरुप स्कुटर पनि दिएको र ब्रान्ड एम्बेस्डरका नाताले आफू दर्जनौँपटक माडी आएको उहाँले खुलाउनुभयो । झण्डा गाडेर कब्जा गरेको भनिएको जमीन आफ्नो नरहेपनि आफ्नो नाउँमा माडीका दुई स्थानमा १० कठ्ठा, एक ठाउँमा ३ कठ्ठा र पार्टनरशीपमा डेढ बिगाहा जमीन रहेको भने उहाँले स्वीकार्नुभएको छ । त्यसमध्ये हाल चार कठ्ठामा होमस्टे बनिरहेको पनि उहाँले सार्वजनिक गर्नुभयो ।