माडी नगरपालिकाले बेरुजु फर्स्याैट गरी साविकको बेरुजु रकम क्रमशः घटाउँदै

330
SwadeshPost

चितवन । माडी नगरपालिकाले बेरुजु फर्स्याैट गर्दै साविकको बेरुजु रकम क्रमशः घटाउँदै लगेको देखिएको छ ।

महालेखा परीक्षकको कार्यालयले प्रकाशित गरेको आर्थिक वर्ष ०७६/०७७को प्रतिवेदनमा माडी नगरपालिकामा ३ करोड ३२ लाख ४० हजारको बेरुजु देखिएको छ । कूल १ अर्ब १० करोड ६४ लाख ६३ हजार रुपैंयाको लेखा परीक्षण गर्दा सो रकम बराबरको बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख गरिएको हो ।

यसअघि, आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण प्रतिवेदनमा माडी नगरपालिकाको बेरुजु रु. १० करोड २० लाख ८४ हजार देखिएको थियो । सोमध्ये असुल गर्नुपर्ने रु. २४ लाख ३९ हजार, नियमित गर्नुपर्ने रु. ४ करोड ९ लाख ९८ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने रु.४ करोड ९७ लाख ४९ हजार र पेश्की बाँकी रु. ८८ लाख ९८ हजार रहेको उल्लेख गरिएको थियो ।

आर्थिक बर्ष ०७६/०७७ मा घटेको बेरुजु चालू आर्थिक बर्षको प्रतिवेदन सार्वजनिक हुँदासम्म शुन्यमा झार्ने उद्देश्य राखिएको माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालको जिकीर छ । अनियमितरुपमा अनुशासन विपरीत गरिएको खर्चलाई महालेखा परीक्षकको कार्यालयले बेरुजुमा राखेर प्रतिवेदन सार्वजनिक गर्ने गर्दछ ।

चितवन जिल्लाभर भरतपुर महानगरपालिकाको १० करोड १५ लाख १६ हजार, रत्ननगर नगरपालिकामा ३ करोड ८५ लाख ८९ हजार, खैरहनी नगरपालिकामा २ करोड ८१ लाख ५३ हजार, राप्ती नगरपालिकामा १ करोड ३९ लाख ८५ हजार, कालिका नगरपालिकामा १ करोड ६ लाख १४ हजार र इच्छाकामना गाउँपालिकामा ३ करोड ४४ लाख ९८ हजारको बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

SwadeshPost