बाढीका कारण माडीको मगोई पुल निर्माणका सामानहरु बगाउनुका साथै कटान

294
SwadeshPost

११ भदाै, चितवन । शुक्रबार बिहानैदेखि परेको बर्षाका कारण बाढी आउँदा माडीको मगोई खोलामा पुल निर्माणका सामानहरु बगाउनुका साथै कटान सुरु भएको छ ।

बाढीले पुलको ढलानका लागि राखिएका सेन्ट्रिङका सामान र पाइपहरु बगाएको हो । त्यस्तै, बाढीले खोला किनारमा थारु संग्रहालयतर्फ कटान गर्दै गएको छ, जसको कारण बिजुलीको पोल समेत जोखिममा परेको छ । सो खोलाको बाढीका कारण माडीको सडक यातायात समेत अवरुद्ध भएको छ ।

त्यसैगरी, बाँदरमुढे खोलामा आएको बाढीले माडी-३, रेवा टोलको सिरानमा क्षती गरेको छ । बाढीले खोलाको ड्याम फुटाल्ने र रेवा (पाकिस्तान) टोलमा बाढी छिर्ने जोखिम बढेको माडी प्रहरी प्रमुख झलक शर्माले बताउनुभयो ।

उता, माडी-१ बरुवाबाट चैनपुर जाने बाटोमा रहेको पुल क्षेत्रमा समेत बाढीले क्षती पुर्याएको छ । बर्षाका कारण माडीका हरेकजसो खोलाहरु बढीग्रस्त भएका छन् भने अधिकांश तटमा कटान र डुबान भएको खबर आइरहेको छ ।

SwadeshPost