माडी क्षेत्रमा हात्तीको त्रास उच्च, हात्तीले घर भत्काउँदै र बालीनाली विनाश गर्दै

हात्तीले भत्काएको एक घर
268
SwadeshPost

मध्यरातको समय, जंगली हात्तीको बथान आई घर भत्काउँन थाल्दा त्यहाँ भित्र रहेको परिवारको अवस्था कस्तो होला ? अझ घरभित्र अन्न अनाज वा जाँडरक्सीको खोजीमा हात्तीले यतायता सुँड चलाउँन थाल्दा झन कति त्रास होला ? सुतिरहेका महिला, बृद्ध र बालबालिकाहरु बिउँझिएर चिच्याउन कराउन वा रुन थाल्दा झन कस्तो अवस्था होला ?

यो अवस्था हो, चितवन राष्ट्रिय निकुञ्जछेउका गाउँहरुमा बसोबास गरिरहेका माडीबासीहरुको । माडीको द्रौपतिनगर, पाण्डवनगर, बनकट्टा, भैरवपुर, पौहारी, धोबाहा, सिमरा, दिवानगर, कृष्णनगर, कान्छी बगहीँ र गणेशकुञ्ज लगायतका गाउँमा हात्तीको त्रास उच्च रहँदै आएको छ ।मुख्यतः धान काट्ने र थन्क्याउने समयदेखि सुरु हुने हात्तीको ताण्डव चैत बैशाखसम्मै उच्च रहँदै आएको छ । कृषकहरुले भकारीमा वा बोरामा थन्क्याइसकेको धान खाएर तथा छरिदिएर हात्तीको बथानले सार्है दुख दिएको माडी धोबाहाका एक किसानले जानकारी दिनुभयो ।

जंगल छेउका कृषकका काठेघर वा कच्ची घर भत्काउने वा ढलाउने गर्दै आएको जंगली हात्तीको बथानले गाउँको बिचमै पुगी पक्की घर र फलामे झ्यालढोका समेत फुटाउन थालेको छ । हात्तीले माडीक‍ो अमिलियास्थित तात्कालीन आधारभूत विद्यालयको कक्षाकोठाको फलामे झ्याल फुटाएको हो भने सिमेन्ट निर्मित पक्की भित्ता समेत भत्काएको छ । हात्ती नियन्त्रणका निम्ति भएका प्रयासहरु कम मात्र प्रभावकारी रहँदै आएकाले भरपर्दो र दीर्घकालीक उपाय तत्कालै अवलम्बन गरिदिन प्रभावित क्षेत्रबासीहरुको माग रहेको छ ।

SwadeshPost