नारायणी नदी तटबन्धनका लागि एकैपटक पाँच अर्बको काम अघि बढाउने तयारी

203
SwadeshPost

मंसिर, २१ चितवन । विगत १० वर्षदेखि तटबन्ध थालिए पनि बजेट अभावमा काम हुन नसकेको नारायणी नदी तटबन्धनका लागि एकैपटक रु पाँच अर्बको काम अघि बढाउने तयारी गरिएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नारायणी नदी तटबन्ध गरी पश्चिम चितवनलाई सुरक्षित गराउन गुरुयोजना तयार गरी सम्बन्धित निकायहरुमा पहल गरिरहेको बताउनुभयो । महानगरको गुरुयोजनालाई सिँचाइ विभागले स्वीकृत गरी अर्थ मन्त्रालय पठाएको छ । जसमा चितवन र नवलपरासीतर्फ तटबन्धनका लागि रु २३ अर्ब ५८ करोड ४३ लाख खर्च लाग्ने प्रस्तावित लागत आएको उहाँले जानकारी दिनुभयो ।

जसमध्ये पहिलो चरणमा रु पाँच अर्बको कामका लागि बहुवर्षीय खरिद कार्य अघि बढाउन बजेट सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा फाइल रहेको छ । मन्त्रालयबाट केही दिनमा नै स्वीकृति हुने जानकारी आफूले प्राप्त गरेको उहाँले बताउनुभयो । आर्थिक वर्ष २०६६/६७ बाट नारायणी नदीमा तटबन्धनको काम निरन्तर भइरहेपनि हालसम्म रु एक अर्ब ८३ करोड मात्र विनियोजन हुँदा काम प्रभावकारी हुनसकेको थिएन ।

SwadeshPost