माडी नगरपालिकाद्वारा एकपछि अर्को गर्दै माडीका भित्री बाटोहरु कालोपत्रे गर्ने कार्य तीब्र

नगरभित्रका बाटोघाटोहरुलाई नक्शाङ्कन गरी व्यवस्थित गर्ने नगरप्रमुख ढकालको भनाई

305
SwadeshPost

५ पाैष, चितवन । माडी नगरपालिकाले एकपछि अर्को गर्दै माडीका भित्री बाटोहरु कालोपत्रे गर्ने कार्य तीब्र पारेको छ ।

सडक ‘बाटोहरु ग्राबेल गर्ने कार्यलाइ निरुत्साहित गर्दै सबै वडाका भित्री सडकहरुलाई कालोपत्रे गर्न प्राथमिकता दिइने’ नीति पारित गरेको नगरपालिकाले चालू आर्थिक बर्षमा कम्तीमा २० किलोमिटर भित्री सडकहरु कालोपत्रे गर्ने उद्देश्य राखेको हो ।

माडी उपत्यकामा हालसम्म माडी २ को चिरौली चोकदेखि सिम्रहनी हुँदै एकता स्तम्भ पुग्ने सडक, माडी ४ मा प्रभू महतोको घरबाट रेडहिल पार्कसम्म पुग्ने सडक, माडी ७ मा देबेन्द्रपुर बजारबाट जगन्नाथपुरी स्कूल हुँदै परुई खोलासम्म पुग्ने सडक र माडी ३ मा बसन्तपुर बजारको पुरानो सडकमा कालोपत्रे कार्य सकिएको छ । हाल माडी ३ कै बघौंडा चोकदेखि बैराठ गाउँसम्म पुग्ने बाटोका प्राइम छर्किएको र एक साताभित्रै सो बाटोमा कालोपत्रे सकिने नगरपालिकाका ईञ्जिनियर युवराज महतोले जानकारी दिनुभयो । त्यसपश्चात चिसो मौसमका कारण पुस १५देखि माघ मसान्तसम्म डेढ महिना कालोपत्रे कार्य रोकिने उहाँले जनाउनुभयो । फागुन महिनाको सुरुवातसंगै कालोत्रपे कार्य सुचारु हुने उहाँको भनाई छ ।

सो समयमा नगरपालिकाको बजेट अन्तरगत माडी ५ स्थित रमाइलोडाँडा चोकदेखि माडी ६ स्थित जनकल्याण मा.वि. पुग्ने बाटो, माडी १ मा लक्ष्मुनिया सर्जनाचोकदेखि भंगतासम्म पुग्ने बाटो, माडी ५ मै बसन्तपुरको शहीदचोकदेखि पिपरियासम्म पुग्ने बाटो, माडी ८ मा दक्षिण अयोध्यापुरी स्कुलदेखि कान्तिपुर जाने बाटो तथा ८ नं. वडा कार्यालय चोकदेखि तिलु पुरीको घर जाने बाटो, माडी ७ स्थित कीर्तनपुर गाउँ र माडी ९ को गोबिन्दबस्तीदेखि कान्छीबगहीँसम्म कालोपत्रे गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

यसबाहेक प्रदेश सरकार समपुरक अनुदानबाट माडी १ को अम्बाबास चोकदेखि माडी २ स्थित सितलपुर पुग्ने बाटो, माडी ५ मा रमाइलोडाँडा दराई चोकबाट शिवालय मन्दिर पुग्ने बाटो र माडी ८, खरकट्टा गेटबाट शिवद्वार होमस्टेसम्म पुग्ने बाटो समेत कालोपत्रे गरिने माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले बताउनुभयो । त्यस्तै, नगरभित्रका बाटोघाटोहरुलाई नक्शाङ्कन गरी व्यवस्थित गर्ने र माडी नगरपालिका नगर यातायात गुरुयोजनाको प्रभावकारी कार्यान्वयन समेत गरिने उहाँको भनाई छ ।

SwadeshPost