लालपूर्जा पाउनु पर्ने माग राखी बाँदरझुलाका सुकुम्बासीहरु काठमाडौंमा रिले अनसनमा

154
SwadeshPost

५ पाैष, चितवन । लालपूर्जा पाउनु पर्ने माग राखेर माडी बाँदरझुला (नयाँ नाम: हनुमानझुला)का भूमिहीन सुकुम्बासीहरुले काठमाडौंमा रिले अनसन सुरु गरेका छन् ।

लामो समयदेखि माडी-९, बाँदरझुलामा बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासीहरुले व्यवस्थित बसोबासको व्यवस्थापनका लागि आइतबारबाट राजधानी केन्द्रीत आन्दोलन सुरु गरेकोमा आज सोमबारदेखि रिले अनसन थालेका हुन् ।

बाँदरझुलाबाट बस यात्रा गरी काठमाडौं पुगेको ४० जनाको समूह रिले अनसनमा बसेको बाँदरझुला संघर्ष समितिका जगराम प्रजाले बताउनुभयो । आफूहरुको माग सम्बोधन नभएसम्म माइतीघर मण्डलामा अनिश्चितकालीन रिले अनशन शुरु गरिएको उहाँको भनाई छ ।

आन्दोलनरत भूमिहीन सुकुम्बासीहरुले भोलि बिहान माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालसहित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग भेट गर्दैछन् ।

०४७ कात्तिक २२ गतेदेखि विभिन्न जिल्लाका सुकुम्बासी नागरिकहरु बाँदरझुलामा बस्दै आएपनि सरकारले सुकुम्बासीको व्यवस्थापनमा चासो नदेखाएपछि आफूहरु बाध्य भएर काठमाडौंमै आएर प्रदर्शनमा उत्रिनु परेको आन्दोलनकारीहरुको भनाई छ ।

SwadeshPost