५ पाैष, चितवन । लालपूर्जा पाउनुपर्ने माग राखी काठमाडौंमा रिले अनसन सुरु गरेका माडी बाँदरझुलाका भूमिहीन सुकुम्बासीहरुको आन्दोलनप्रति नेकपा (एमाले) माडी नगर कमिटिले ऐक्यबद्धता जनाएको छ ।
नगर अध्यक्ष नारायण अधिकारी र सचिव श्रीप्रसाद दवाडीद्वारा संयुक्त हस्ताक्षरित वक्तव्य जारी गर्दै एमाले माडी नगरले आन्दोलनप्रति ऐक्यबद्धता जनाएको हो । वक्तव्यमा, २०५२ सालदेखि बाँदरझुलामा बसोबास गर्दै आइरहेका सुकुम्बासीहरुलाई सरकारले जग्गाधनी प्रमाण पूर्जा दिन नसकिरहेको भन्दै विगत सरकारले गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोगलाई पनि अहिलेको सरकारले विघटन गरेपछि त्यहाँका सुकुम्बासीहरु थप निराश भएको उल्लेख गरिएको छ ।
यस्तोमा, हाल पुसको जाडोमा माइतीघर मण्डलामा सरकारको ध्यान आकर्षणका लागि रिले अनसन सुरु भएकोमा नेकपा एमालेले वक्तव्यमार्फत सो आन्दोलनमा ऐक्यबद्धता जनाएको हो । उक्त रिले अनसन र आन्दोलनप्रति राज्यको गम्भीर ध्यानाकर्षण गराउँदै वक्तव्यमा, आन्दोलनरत हनुमानझूलाबासीको मागलाई छिटोभन्दा छिटो पुरा गर्न पनि माग गरिएको छ ।