लालपूर्जा आन्दोलनबाट भएको ३ बुँदे सहमतीप्रति बाँदरझुलाबासी उत्साही र आशावादी

फागुन महिनासम्म सहमती कार्यान्वयन नभए काठमाडौं केन्द्रीत झनै ठूलो आन्दोलन गर्ने निर्णय

लालपूर्जा पाउनुपर्ने माग राखी काठमाडौंमा आन्दोलन गरेका बाँदरझुलाबासी
180
SwadeshPost

८ पाैष, चितवन । लालपूर्जा पाउनुपर्ने माग राखी पुसको चिसोमा काठमाडौंमा गरेको आन्दोलनबाट भएको ३ बुँदे सहमतीप्रति बाँदरझुलाबासी उत्साही र आशावादी बनेका छन् ।

राष्ट्रिय भूमि आयोगसंग सहमतीपत्रमा हस्ताक्षर भएसंगै उत्साही हुँदै बाँदरझुला फर्किएका उनीहरुले बृहत् गाउँभेला आयोजना गरी आन्दोलनको समीक्षा गरेका हुन् । समीक्षामा ३ बुँदे सहमती सकारात्मक रहेको निष्कर्ष निकालिएको बाँदरझुलाका सुकुम्बासी अगुवा राजकुमार चेपाङले बताउनुभयो ।

३ बुँदे सहमतीको वातावरण बनाउन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले भूमिका निर्वाह गर्नुभएको भन्दै भेलाले आभार समेत जनाएको चेपाङको भनाई छ । तर, फागुन महिनासम्म सहमती कार्यान्वयन नभए काठमाडौं केन्द्रीत झनै ठूलो आन्दोलन गर्ने निर्णय भएको पनि उहाँले जनाउनुभयो ।

बाँदरझुलाका सुकुम्बासी र राष्ट्रिय भूमि आयोगबिच गत मंगलबार ३ बुँदे सहमती भएको हो । आयोगका उपाध्यक्ष नहेन्द्र खड्का र बाँदरझुला संघर्ष समितिका संयोजक शारदा आचार्यले हस्ताक्षर गर्नुभएको सहमती पत्रमा फागुन मसान्तसम्म जमीनको लगत संकलन र जग्गा नाँपजाँचको निस्सा वितरण गरिसक्ने उल्लेख भएको छ ।

त्यस्तै, बाँदरझुलामा विद्युतिकरणका लागि सम्बन्धित पक्षहरुलाई पत्राचार गर्ने एवं बाँदरझुलाका किसानहरुले सहज, सरल र सुपथ तरिकाले कृषि कार्य गर्नका लागि ट्याक्टर प्रयोगको अनुमतीका लागि समेत सरोकारवाला निकायहरुलाई तत्कालै पत्राचार गर्ने उल्लेख गरिएको छ । सहमतीपत्रमा हस्ताक्षर भएसंगै भूमिहीन सुकुम्बासीहरुको आन्दोलन स्थगित भएको हो । (फाइल फोटो)

SwadeshPost