१४ माघ, चितवन । लामो समयदेखि प्रमुख नहुँदा नागरिकता लगायतका सेवा प्रभावित रहेको ईलाका प्रशासन कार्यालय माडीमा नयाँ प्रशासकीय अधिकृतका आउनुहुने भएको छ ।
विगत एक महिना भन्दा लामो समयदेखि प्रमुख बिहीन रहेको सो कार्यालयमा पर्वत निवासी पुष्प पौडेललाई खटाउने निर्णय भएको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनालले जानकारी दिनुभयो । माडीबाट नागरिकताको प्रमाणपत्र जारी, नागरिकताको प्रतिलिपी प्रदान, नावालक परिचयपत्र लगायतका सेवा प्रदान गर्ने सो कार्यालयमा प्रमुख नहुँदा माडीबासीलाई अप्ठ्यारो थियो ।
यसअघि, नेकपा (एकीकृत समाजवादी) माडीका नगर अध्यक्ष पुरन महतो, नेता नारदमणि पौडेल लगायतको टोलीले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलगायतसंग बिहीबार भेट गरी माडीका अन्य बिषयहरुसंगै ईलाका प्रशासन कार्यालय माडीमा प्रमुख बिहीनताबारे जानकारी गराएको थियो । त्यसक्रममा मुख्यमन्त्री पाण्डेले गृह सचिवसंग फोन समन्वय गरी माडी प्रशासनमा पौडेललाई पठाउने वातावरण बनेको नेकपा एसका नेता पौडेलको भनाई छ ।