२५ माघ, चितवन । राष्ट्रिय भूमि आयोग चितवनले माडीको छरछरे गाउँबाट जग्गाको निस्सा वितरण सुरु गरेको छ ।
आयोगले माडी नगरपालिका-५, छरछरे गाउँमा रहेका भूमिहीन सुकुम्बासीहरुले भोगचलन गरिआएका जमीनको नापी गरी निस्सा तयार पारेको हो । आयोगबाट खटिएका सर्भेयर र अमिनहरुले हाइ डिफिनेशन स्याटेलाइट म्याप (नक्सा)को प्रयोग कित्ताकाट गरेर कित्ता नम्बर हाली निस्सा तयार पारेका हुन् ।
मंगलबार आयोगको नगरस्तरीय सहयोग समितिका संयोजक समेत रहनुभएका माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल र आयोगको वडास्तरीय सहयोग समितिका संयोजक समेत रहनुभएका माडी ५ का वडाध्यक्ष रामबन्धु पोखरेलले करीब एक दर्जन सुकुम्बासीहरुलाई जग्गाको निस्सा हस्तान्तरण गर्नुभयो ।
निस्सा पाएका सुकुम्बासीहरुलाई निस्सा पाएको ३५ दिनभित्र हातमा लालपुर्जा दिइने राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले बताउनुभयो । माडी नगरपालिकामा वडा नम्बर ९ र ५ बाट निवेदन दिएर ठाउँको ठाउँ निस्सा दिने काम द्रुत गतिमा अगाडी बढाईएको तिमिल्सिनाको भनाइ छ ।