चितवन । सेमीफाइनलमा पराजित भएपनि प्रोटेस्ट सदर भई फाइनलमा भिँड्न पाएको लुम्बिनी नवयुवा क्रिकेट क्लबले अन्ततः पाँचौ माडी क्रिकेट कपको उपाधी जितेको छ ।
उपाधी चुमेसंगै लुम्बिनी नवयुवाले नगद २ लाख रुपैंयासंगै शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको हो । उपविजेतामै चित्त बुझाउनु परेको नवलपरासी क्रिकेट क्लबले नगद रु १ लाखसहित शिल्ड मेडल र प्रमाणपत्र पाएको छ । खेलमा टस जितेर ब्याटिङ रोजेको नवलपरासीले २० ओभरमा ७ विकेट गुमाई २३० को उच्च योगफल तयार पारेको थियो । २३१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १८.३ ओभरमा ५ विकेट गुमाई लक्ष्य पुरा गरेको थियो ।
प्रतियोगितामा बेस्ट बलर नवलपरासी क्रिकेट क्लबका अमन शुक्ला, बेस्ट फिल्डर लुम्बिनी नवयुवा क्रिकेट क्लबका रबि यादव, इमर्जिङ प्लेयर माडी-११ का पवन शाही ठकुरी, म्यान अफ द सिरिज लुम्बिनीका रबि यादव, बेस्ट व्याट्सम्यान होटल देव प्यालेस गैंडाकोटका राजा सिंह र अनुशासित टीमको उपाधी माडी-११ लाई प्रदान गरिएको हो ।
बिजेता र उपविजेता क्लब एवं उत्कृष्ट खेलाडीहरुलाई प्रमुख अतिथि, माडीका नगर उपप्रमुख ताराकुमारी काजी महतो र विशिष्ट अतिथि, माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकाल लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।