देश-प्रदेश खबर पोष्ट

चितवन राष्ट्रिय निकुञ्जभित्र धुलोरहित सडक निर्माण प्रभावित हुनेगरी अख्तियारमा बेनामे उजुरी

चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र धुलोरहित सडक निर्माण प्रभावित हुनेगरी पुनः अख्तियारमा बेनामे उजुरी परेको छ ।

चार बर्षअघि निकुञ्ज भित्रको बाटो फराकिलो बनाउन व्यक्तिगत रुपमा सहजिकरण गर्नुभएका तात्कालीन प्रमुख संरक्षण अधिकृत (वार्डेन) डा. रामचन्द्र कँडेलबिरुद्ध अख्तियार दुरुपयोग अनुुसन्धान आयोग काठमाडौंमा बेनामे उजुरी परेको हो ।

डा. कँडेलमाथि निकुञ्जभित्रका रुखहरु हटाई अनियमितता गरेको आरोप लगाइएको छ । ग्राभेलका क्रममा बाटोबाट सारिएको रुखको भिडियोसहित उजुरी परेको हो । एकजना माडीबासीले अख्तियारमा परिचय नखुलाई बेमाने उजुरी दिएसंगै हाल राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रहनुभएका डा. कँडेल अप्ठ्यारोमा पर्नुभएको बुझिएको छ ।

निकुञ्जभित्र धुलोरहित सडक बनाउन सकारात्मक र सहयोगी रहनुभएका डा. कँडलबिरुद्ध नै बेनामे उजुरी हालिनु पछाडी माडीको विकास रोक्ने गलत राजनैतिक मनसाय रहेको माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालको भनाई छ । धुलोरहित सडक निर्माणका लागि अर्थ मन्त्रालयबाट बजेट विनियोजन भई प्रारम्भीक अध्ययनको काम समेत सकिएको अवस्थामा सडक निर्माण हुँदा ‘कुनै अमुक दल वा व्यक्तिलाई फाइदा पुग्छ भन्ने गलत मनसुवाबाट बेमामे उजुरी परेको’ उहाँले बताउनुभयो ।

यो नयाँ समस्याको निदानका लागि आउँदो साता महानिर्देशक डा. कँडेलसहित प्रधानमन्त्री, वनमन्त्री र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग भेटसम्वाद गर्न लागेको नगरप्रमुख ढकालले स्वदेशलाई जानकारी दिनुभयो । यसअघि, माडीका चेपाङहरुलाई घर निर्माण कार्य अगाडि बढाउँदा समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बेनामे उजुरी परी निर्माण कार्य रोकिएको थियो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार