देश-प्रदेश खबर पोष्ट

एक डेनिस संस्थाद्वारा माडीको दक्षिण अयोध्यापुरी क्षेत्रमा खानेपानी परियोजना निर्माण हुँदै

१७ फागुन, चितवन । भिलेज डेभलपमेन्ट इन नेपाल (Jysk landsbyudvikling i Nepal) नामको डेनिस स्वयम्-सेवी संस्थाले माडीको दक्षिण अयोध्यापुरी क्षेत्रमा नयाँ बृहत् खानेपानी परियोजना सुरू गरेको छ ।

एक दशकअघि निर्माण सकिएको ओभरहेड ट्यांकीले भूकम्पका कारण समस्या आई अपेक्षित काम नगरेपछि सो डेनिस संस्था नयाँ ट्यांकी सहितको नयाँ खानेपानी संरचना निर्माणमा होमिएको हो ।नयाँ खानेपानी परियोजनाका लागि १०० मिटर गहिराईयुक्त बोरिङ गाडिएको र त्यहाँबाट निक्लिएको पानीको नेपाल र डेनमार्कमा प्रयोगशाला परीक्षण गर्दा पिउनयोग्य एवं राम्रो गुणस्तरको रहेको पाइएको सो (बैकुण्ठे भूमिगत खानेपानी तथा सरसफाई) आयोजनाका सचिव गोविन्द पन्तले बताउनुभयो ।

हाल २ लाख क्षमताको ओभरहेड ट्यांकी निर्माणको सुरुवाती काम चलिरहेको सचिव पन्तले जानकारी दिनुभयो । इलेक्ट्रोफ्युजन प्रविधिबाट पाइप जडान, डिजिटल मिटर र उच्च गुणस्तरको डेनिस भल्भ प्रयोग भई निर्माण सुरु भएको वितरण प्रणालीले माडी-८ का ईन्द्रबस्ती, दक्षिण अयोध्यापुरी, चौकीडाँडा र कान्तिपुर क्षेत्रका ४०० घरधुरीलाई शुद्ध पिउने पानी उपलब्ध गराउने डेनिस (दातृ) संस्थाकी प्रमुख लोने पिटर्सनले जनाउनुभयो ।

परियोजना अन्तरगत पाइप खरिदका लागि माडी नगरपालिकाले रु. ३० लाख र स्थानीय उपभोक्ताहरुले सदस्यता शुल्क स्वरुप रु. १३ लाख जुटाएका छन् भने डेनिस संस्थाले करीब ७ करोड लागत व्यहोर्दै छ । त्यसैगरी परियोजनाको कार्यालय स्थापनाका लागि नगरपालिकाले तात्कालीन ईन्द्रबस्ती आधारभूत विद्यालयको समायोजनपछि खाली रहेको भवन उपलब्ध गराएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार