२८ फागुन, चितवन । मध्यपूर्वी माडीको जनजीवन माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत १० जना छात्राहरु हरेक शुक्रबार दिउँसो १ बजेपछि भेला हुन्छन् । विद्यालय हाताभित्रै स्थापित माडी ब्रेन पावर नामको पुस्तकालयमा भेला हुने उनीहरुबिच शीप विकास, स्वावलम्बन, सुचना प्रविधि र महिलाहरुको सामाजिक अवस्था सुधारका बिभिन्न बिषयहरुमा छलफल अन्तरसंवाद सञ्चालन हुन्छ ।
छात्राहरुको समूहलाई सिकाई सहजिकरणमा सहभागी हुन्छन्, भरतपुरका सदीक्षा पिया, पूजा भट्टराई र रेश्मी सुनार । उनीहरु किशोर उमेरका समस्याहरुसंगै आत्मरक्षा, आत्मविश्वास, नेतृत्व र वक्तृत्व विकास लगायत सामाजिक अगुवाईका अभ्यास गर्छन्, सिक्छन् र सिकाउँछन् पनि ।
डेनिस स्वयम्सेवी संस्था भिलेज डेभलपमेन्ट इन नेपालको सहयोगमा सञ्चालित यो नयाँ परियोजनाबाट आफूहरुमा आत्मविश्वास बढेको, बोल्ने क्षमता बढेको र कम्प्युटर ज्ञान मिलेको एक सहभागी निर्मला तिमिल्सिना बताउँछिन् । आफूहरुमा रहेका कमजोरी थाहा भएको र सामाजिक सञ्जालको सही उपयोग गर्न सिकेको अर्का सहभागी अनुष्का अधिकारीको भनाई छ ।
किशोरीहरुलाई भोलिको सक्षम सामाजिक अगुवा बनाउन ‘माडी गर्ल्स पावर’ नामको यो परियोजना सुरुवात भएको डेनिस दातृ संस्थाकी प्रमुख लोने पिटर्सन बताउनुहुन्छ ।