चितवन । क्याथरिन स्मीथ र अस्कर कार्स्टाट, डेनमार्क निवासी अर्थात डेनिस नागरिक । तर उनीहरुको प्रीय ठाउँ भने नेपाल र त्यसमा पनि चितवन माडी ।
क्याथरिन पेशाले नर्स हुन । डेनमार्कमा उनी मुटु शल्यक्रियाको अपरेशन थिएटर र पोस्टअपमा नर्सिङ सेवा दिन्छिन् । तर उनीलाई स्वयम्सेवकका रुपमा माडी-८, खरकट्टास्थित अयोध्यापुरी हेल्थपोस्टमा बिरामीहरुको सेवा गर्दा झनै खुसी मिल्छ । भन्छिन, यहाँ म जति रहेपनि अघाउँदिनँ ।
अनि, अस्कर चाँही जनस्वास्थ्य (पब्लिक हेल्थ)का विद्यार्थी हुन् । कोपेनहेगन विश्वविद्यालयमा सिकेका ज्ञान माडीको अयोध्यापुरी क्षेत्रमा उपयोग गर्न पाउँदा उनी खुसी छन् । एक स्वयम्सेवकका रुपमा माडी आएका उनको भनाई छ, ‘माडी सुन्दर ठाउँ हो, यहाँका मानिसहरुको मन झनै सुन्दर छ, तर स्वस्थ खानपिन र व्यायाम जस्ता कुरामा अझै ध्यान पुग्नु जरुरी छ ।’
डेनिस स्वयम्सेवी संस्था Jysk landsbyudvikling i Nepal मा जोडिएर उनीद्वय माडी आएका हुन् । सो संस्थाले अयोध्यापुरी हेल्थ पोस्टमा सुबिधा सम्पन्न प्रसुती सेवा, अन्य अत्यावश्यक मेडिकल सामग्रीहरु, हस्पिटलका लागि फर्निचर, बैठक, स्टोर र कार्यालय कक्षका सामग्री आदि समेत उपलब्ध गराएको छ ।
हेल्थ पोस्टमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न क्याथरिन र अस्करजस्ता स्वयम्सेवी स्वास्थ्यकर्मीहरु आइरहने सो हेल्थ पोस्ट प्रमुख प्रतिक्षा गौतम बताउँछिन् । माडी नगरपालिकाको समन्वय र डेनिस र रोटरी क्लबको सहयोगमा आफ्नो स्वास्थ्य संस्था चितवनै उत्कृष्ट र सुबिधासम्पन्न हेल्थ पोस्ट हुन सकेकोमा उनी पनि असाध्य खुसी छिन् । त्यहाँ पुग्ने सेवाग्राही र बिरामीहरु त झन् किन बेखुसी हुनु र ?