चैत ०७, चितवन । कक्षाकोठामा ‘विद्यार्थीलाई दुर्वाच्य बोलेको’ भनी विवादित माडीका एक शिक्षक अन्ततः ‘बाल यौन दुर्व्यवहार’को आरोपमा पक्राउ परेका छन् ।
सोमेश्वर माध्यमिक विद्यालय बरुवामा कक्षा ९ मा अध्ययनरत १५ वर्षीया एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले माडी नगरपालिका वडा नं. ५ निवासी ३७ वर्षीय शिक्षक सुरज लामिछानेलाई पक्राउ गरेको हो । कसुर ठहर भए तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँ सम्म जरिवानाको व्यवस्था कानुनले गरेको छ ।
यसैबिच, नेपाल शिक्षक संघको स्थानीय इकाइ समिति माडीले एक वक्तव्य जारी गर्दै आरोपित शिक्षकलाई अपमानित गर्ने तथा अशोभनीय र अपाच्य व्यवहार भएको भन्दै निन्दा गरेको छ । आरोपित माथि दिन थपिँदै जाँदा आरोपहरु थप भएको भन्दै वक्तव्यमा आरोपित शिक्षकको पेशागत सुरक्षाको माग समेत उठाइएको छ । साथै, सम्वेदनशील ठाउँमा उत्तेजना, आवेग र हठात् निर्णय नगरी सत्य तथ्यमा आधारित भई अघि बढ्न अनुरोध समेत गरिएको छ ।