चैत ०७, चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष एवं पूर्व मन्त्री बिक्रम पाण्डेले आफू मन्त्री र जनप्रतिनिधि हुँदा माडीमा मालपोत कार्यालय स्थापना, तटबन्धन, सडक र पुल निर्माणको काम गरेको बताउनुभएको छ ।
माडीको बसन्तपुरस्थित फुडल्याण्ड होटलमा सम्पन्न कार्यकर्ता भेटघाट एवं नगर कार्यालय स्थापना कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले माडी आउने सडकको अवस्था अहिले पनि दयनीय रहेको बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्जमा आकाशे पुलको सपना बाड्नेहरुले सडकमा कालोपत्रे मात्र पनि गर्न नसकेको उहाँको भनाई थियो ।
अर्को प्रसंगमा बोल्दै पाण्डेले हाल निस्साको नाउँमा सुकुम्बासी झुक्याउने योजना ल्याइएको र माडीका जनप्रतिनिधीहरुले भ्रम छरेको आरोप लगाउनुभयो । अब माडीको विकास गर्ने जनप्रतिनिधि छान्ने जिम्मा जनताको रहेको भन्दै आफूसँग विश्वकै सुन्दर ठाउँ माडी बनाउने योजना रहेको उहाँको जिकिर थियो ।