१३ चैत्र, चितवन । चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले माडीको कुसुमखोला क्षेत्रमा हालै बनेका घरगोठहरुमा आगजनी गरेको छ ।
मकवानपुर र चितवनका पहाडी क्षेत्रबाट बसाईं सरी माडी नगरपालिका-९ कुसुमखोलामा आएका केहि चेपाङ परिवारले निर्माण गरेको करीब १० वटा घरगोठहरुमा आइतबार दिउँसोपख आगजनी भएको हो । स्वदेशसंग कुराकानी गर्दै निकुञ्जको माडी बगहीँ सेक्टर प्रमुख, सहायक संरक्षण अधिकृत प्रमोद यादवले नयाँ बनेका गोठहरु हटाइएको तर आगजनी भने नगरेको जिकीर गर्नुभयो । बन डढेलोका कारण घरगोठमा आगो लागेको उहाँको दावी थियो ।
यसअघि, करीब डेढ बर्षअघि निकुन्जले वर्षाको मौसममा सोही स्थानमा चेपाङ घर गोठहरुमा आगजनी गर्नुका साथै हात्ती लगाएर भत्काएको थियो । सो स्थानमा २०५३ सालदेखि सकुम्वासी चेपाङहरु बस्न थालेका हुन् । निकुन्ज क्षेत्र अतिक्रमण गरेर बसेको भन्दै निकुञ्जले उनीहरुलाई हटाउने प्रयास गर्दै आएको छ ।