

२० चैत्र, चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) माडी नगर कमिटिले आसन्न स्थानीय निर्वाचनका लागि नगर-प्रमुख, उप-प्रमुख र वडाध्यक्षहरुको उम्मेदवारी सिफारिस गरेको छ ।

कमिटिको बैठकले नगरप्रमुख पदमा नारदमणि पौडेल र रामचन्द्र लम्सालको नाम सिफारिस गरेको हो । त्यसैगरी नगर उप-प्रमुख पदको उम्मेदवारीका लागि प्रेमराज तिमिल्सिना र चन्द्रा बानियाँको नाम सिफारिस भएको छ । बैठकले ९ वटै वडाहरुमा वडाध्यक्ष पदका लागि एकदेखि दुईजना सम्मको नाम समेत सिफारिस गरेको पार्टीश्रोतले जनाएको हो ।

नगरप्रमुखमा सिफारिस हुनुभएका पौडेल यसअघि साविक अयोध्यापुरी गा.वि.स.का अध्यक्ष हुनुका साथै यसअघिको स्थानीय निर्वाचनमा नेकपा (एमाले)बाट प्रत्यासी रहनुभएको थियो । त्यस्तै जनयुद्धकालीन छापामार पृष्ठभूमिका लम्साल हाल व्यवसायी हुनुका साथै सो पार्टीको युवा संगठनका नेता हुनुहुन्छ ।नगर उपप्रमुखको उम्मेदवारी सिफारिस हुनुभएका तिमिल्सिना समेत साविक कल्याणपुर गा.वि.स.मा अध्यक्ष रहिसक्नुभएको छ ।

उपमेयरका अर्का उम्मेदवार बानियाँ हालसम्म कुनै लाभको पदमा नरहेपनि स्थानीय सामुदायिक वनको अध्यक्ष एवं लोकप्रीय महिला नेतृ हुनुहुन्छ ।नेकपा (एस)ले केन्द्रदेखि स्थानीय तहसम्मै सत्तासीन दलहरु गठबन्धन गर्ने निश्चितप्रायः रहेको छ । माडीको सन्दर्भमा पार्टीको उम्मेदवार सिफारिसको निर्णय गर्न सो पार्टी पहिलो भएको हो ।