चितवन । माडी नगरपालिकाले माडी उपत्यकाबाट बाहिर रहेको बाँदरझुला क्षेत्रलाई छुट्टै वडा कायम गर्ने प्रक्रिया थालेको छ ।
नगर कार्यपालिकाको पहिलो बैठकले हनुमानझुला भन्न थालिएको माडी-९ स्थित बाँदरझुला गाउँ क्षेत्रलाई नगरपालिकाको वडा नं. १० का रुपमा छुट्टै वडा बनाउन नगरसभामा प्रस्ताव पेश गर्ने निर्णय गरेको हो ।
नगर सभाबाट पारित भएपश्चात संघीय मन्त्रिपरिषद् बैठकबाट छुट्टै (थप) वडा कायम गर्ने पहल रहेको बाँदरझुलाबासी समेत रहनुभएका नगर कार्यपालिका सदस्य राजकुमार प्रजाले जानकारी दिनुभयो ।
हाल बाँदरझुलामा १२४८ जना मतदाता रहेका छन् । करीब ६०० घरधुरी रहेको बाँदरझुलामा ३ हजार भन्दा धेरै नागरिकहरुको स्थायी बसोबास रहेको बताइन्छ । चितवन राष्ट्रिय निकुञ्ज बाहिर भारतसंगको सीमाक्षेत्रमा रहेको सो बस्तीमा दलित, लोपन्मुख जाति चेपाङ र जनजाति समुदायको बसोबास रहेको छ ।
बाँदरझुला क्षेत्रमा माध्यमिक विद्यालय, मोबाइल टावर, शसस्त्र प्रहरी बलको वोर्ड सुरक्षा पोष्ट, आधारभूत स्वास्थ्य ईकाई, मठमन्दिर, गुम्बा, चर्च, फाइबर इन्टरनेट आदि संरचनाहरु रहेका छन् । माडी नगरपालिका र नेपाल सरकारको करोडौं लगानी भैसकेको सो बस्तीलाई चितवन राष्ट्रिय निकुञ्जले भने अतिक्रमित क्षेत्र मान्दै हरेक जसो विकासे काममा अवरोध गर्दै आएको छ ।