चितवन । हावाहुरीले छाना उडाएको तथा कक्षाकोठा भत्किएको माडी-७, देबेन्द्रपुरस्थित दक्षिण कालिका आधारभूत विद्यालयको सहयोगार्थ अमेरिकामा रहेका नेपालीहरूले आर्थिक सहयोग गरेका छन् ।
गत वैशाख-१९ गते आएको भीषण हवाहुण्डरीका कारण माडी-७, देबेन्द्रपुरस्थित दक्षिण कालिका आधारभूत विद्यालयको भवनको छानाहरू उडाउनुका साथै भित्ताहरू भत्किदा हाल विद्यार्थीहरुलाई पठनपाठनका लागि कक्षाकोठाको अभाव भएको अवस्था छ । विद्यार्थीहरू गोदाम कोठामा बसेर पढ्नु परेको विद्यालयका निमित्त प्रधानाध्यापक गंगाराम निराैलाले बताउनुभयो ।
सो विद्यालयको छाना निर्माण तथा भवन मर्मतका लागि स्थानीयबासी समेत रहनुभएका सामाजिक व्यक्तित्व हरी रानाभाटको पहलमा अमेरिकाको नर्थ क्यारोलाइना राज्यको ट्र्याड क्षेत्रमा रहनुभएका उहाँकै दाजु दीपक रानाभाटले त्यहाँ रहेका नेपालीहरुसंग सहयोग रकम संकलन गरी ३ लाख ३३ हजार १ सय ८७ रुपैयाँ पठाउनुभएको थियो । सो रकम बिहीबार हरी रानाभाट मार्फत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निलकण्ठ काफ्लेलाई हस्तान्तरण गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काफ्लेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि माडीका नगरप्रमुख तारा कुमारी काजी महतो रहनु भएको थियो । विशिष्ठ अतिथिमा माडीका निवर्तमान नगरप्रमुख ठाकुर प्रसाद ढकाल, वडा-७ का वडा अध्यक्ष चन्द्रा बानियाँ, सहयोग पहलकर्ता हरी रानाभाट लगायत रहनुभएको थियो ।