२ असार, चितवन । माडी नगरपालिका शिक्षा समितिको बैठकले दिवाकर स्मृति माध्यमिक विद्यालयलाई नमूना बिद्यालय छनोट गरेको छ ।
समितिका अध्यक्ष समेत रहनुभएका नगरप्रमुख ताराकुमारी काजी महतोको अध्यक्षतामा बसेको बैठकले नमुना विद्यालय कार्यक्रमका लागि यसबर्ष सो विद्यालयलाई छनोट गरेको हो । नमुना विद्यालयमा दरबन्दी व्यवस्थापन, थप अनुदान लगायतको व्यवस्था रहने गरेको छ ।
सोमेश्वर सार्वजनिक शैक्षिक गुठीमार्फत स्थापित दिवाकर स्मृति विद्यालय, आधारभूत विद्यालय रमाइलोडाँडा र कालीका आधारभूत विद्यालय राधापुरबिच गत २०७५ जेष्ठमा समायोजन भई दिवाकर स्मृति माध्यमिक विद्यालय कायम भएको हो ।
यसैगरी, माडी नगरपालिकाले गतबर्ष जनकल्याण मा.वि. कल्याणपुर, वीरेन्द्र आधारभूत विद्यालय रतनी धोबाहा र राष्ट्रिय आधारभूत विद्यालय दक्षिण अयोध्यापुरीलाई नमुना विद्यालयका रुपमा छनौट भएकोमा त्यसलाई निरन्तरता दिने समेत जनाएको छ ।