७ असार, चितवन । आमसञ्चारको क्षेत्रबाट राजनीतिमा लाग्नुभएका पूर्वसञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्नुभएको छ ।
मंगलबार राजधानी काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा लामिछानेले नयाँ पार्टी घोषणा गर्नुभएको हो । चुनाव चिह्न ‘घण्टी’ प्रस्ताव गर्नुभएका उहाँले आफू झापा, डडेलधुरा वा चितवनबाट चुनाव लड्न मन भएको बताउँदै सरकारमा रहेकाहरुले विगतमा गरेको चुनाव हेरेर आफू सचेत रहेको बताउनुभयो ।
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था हुनुपर्ने उहाँको अवधारणा थियो । आफ्नो पार्टीमा परिवारवाद निषेध र युवा सहभागीता ५० रहने, कार्यकर्ताविनाको पार्टी हुने, पार्टीमा उम्मेदवार बन्न पहिले पार्टीभित्रबाट चुनिने व्यवस्था गरिने र पार्टीबाट निर्वाचित भएकाहरुले राम्रो काम नगरेमा उनीहरुलाई फिर्ता बोलाइने उहाँको घोषणा थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले कुनै पनि व्यापारिक र व्यावसायिक घरानाबाट चन्दा संकलन नगर्ने र पार्टी सदस्यबाट उठ्ने रकमबाट पार्टी चलाउने बताउनुभयो । आफू व्यवस्था बदल्न नभई नागरिकको अवस्था बदल्न राजनीतिमा आएको उहाँको भनाई थियो ।