८ असार, चितवन । माडी नगरपालिकाको नगरसभा नजिँकिदै जाँदा आगामी आर्थिक बर्ष २०७९/८० को बजेटमा समेटिनुपर्ने नीति, योजना र कार्यक्रमहरुबारे चौतर्फी छलफल चुलिएको छ ।
नगर कार्यपालिका आफैले समेत बार्षिक नगरसभाको सन्दर्भमा सुझाव संकलन कार्यक्रम सम्पन्न गरी आगामी कार्यदिशा तथा योजना तर्जुमाका लागि सुझाव संकलन गरेको छ । सोमबार सम्पन्न सो कार्यक्रममा सहभागी रहेका विभिन्न संघसंस्था र स्थानीय सरोकारवालाहरुले नगर कार्यपालिकालाई सयौं महत्वपूर्ण सुझावहरु पेश गरेका छन् ।
कार्यक्रमका सहभागीहरुले नगर प्रोफाइल र आवधीक गुरुयोजना बनाउनुपर्ने, कृषि पकेट जोन र ब्लक विकास गर्नुपर्ने, उत्पादनमा आधारित अनुदानको नीति लिनुपर्ने, मत्स्य र कृषि संकलन केन्द्र सुचारु गर्नुपर्ने, गन्दर्भ संग्रहालय स्थापना र कक्षा १२ सम्म पूणर्तः निःशुल्क शिक्षाको व्यवस्था हुनुपर्ने सुझाव दिएका छन् ।
त्यसैगरी निःशुल्क एम्बुलेन्स र सेनिटरी प्याड, धार्मिक क्षेत्र संरक्षण कार्यक्रम, लिलाधर स्मृति अध्ययन केन्द्र स्थापना, पर्यटन सुचना केन्द्र स्थापना, बाल उद्यान निर्माण, रामायण महाभारत सर्किट सञ्चालन, ज्येष्ठ नागरिक मिलन केन्द्र, बन्यजन्तु र मानव द्वन्द न्यूनिकरण, बजार क्षेत्रहरुमा सिसिटिभी जडान समेत समेटिनुपर्ने सुझाव पेश गरेका छन् ।
यसैगरी, सुकुम्बासी व्यवस्थापन, बाल्मीकि आश्रम पैदल मार्ग, बघौंडा अस्पताल सुधार, माडीमै पोष्टमार्टम सुबिधा, निकुञ्जसंग समन्वय, राममन्दिर निर्माण, बजार र खाद्य अनुगमन निरन्तरता, ज्येष्ठ नागरिक आवास, बनकट्टाको चुंगीकर ढाट हटाउनुपर्ने, बालबालिकाको पोषण सुधार, मल तथा बीउमा अनुदान, कृषिमा बिचौलियाहरुको अन्त्य, क्रसरको आयव्यय सार्वजनिक, आदिवासी जनजाती भवन र संग्रहालय विकास, तथा अपांग मैत्री निर्माण जस्ता सुझावहरु समेत रहेका थिए ।
त्यसैगरी, संघ र प्रदेशबाट बजेट ल्याउन ताकेता गर्नुपर्ने, प्रभावकारी अनुगमन हुनुपर्ने, सिंचाई योजना मर्मत र बिस्तार गर्नुपर्ने, सामुहिक खेती र युवा स्वरोजगारी प्रवद्र्धन हुनुपर्ने, हुलाकी सडक र पुल निर्माणमा ताकेता गर्नुपर्ने, नगरपालिकामा हेल्प डेस्क राख्नुपर्ने, आय व्यय सार्वजनिक गर्नुपर्ने, खरिदमा पारदर्शिता, एक वडा एक उत्पादन कार्यक्रम सञ्चालन, आन्तरिक पर्यटन प्रवद्र्धन, महिला तथा बालबालिका लक्षित कार्यक्रम सञ्चालन र चौमासिक रुपमा सार्वजनिक सुनुवाई हुनुपर्ने समेत सुझाव दिइएको थियो ।
यसबाहेक सामाजिक सञ्जाल र जनप्रतिनिधीहरुलाई व्यक्तिगत रुपमा भेट गरेर समेत नागरिकहरुले नगरपालिका समक्ष सुझाव पेश गरेका छन् । माडी नगरपालिकाले आउँदो असार १० गते नगरसभा कार्यक्रम आयोजना गरेको छ ।