

२८ असार, चितवन । प्रधानमन्त्री शेरबहादुर देउवाले निकुञ्जभित्र धुलोरहित सडक निर्माण सम्बन्धी प्रस्ताव क्याबिनेट बैठकमा लैजाने र पुरक ई.आई.ए. हुँदैगर्दा बैंकल्पिक केबुल जडान कार्य संगसंगै अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा माडीको प्रतिनिधीमण्डल (डेलिगेशन टोली)संग भएको भेटसम्वादमा देउवाले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । निकुञ्जका कारण बाटो र बिजुलीमा परेको गाँठो फुकाउन क्याबिनेट बैठकमा प्रस्ताव लगी निर्णय गर्ने उहाँको भनाई थियो ।

माडी क्षेत्र समेट्ने चितवन क्षेत्र नं. ३ का प्रतिनिधीसभा सदस्य समेत रहनुभएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा माडीका नगरप्रमुख ताराकुमारी काजी महतो, उपप्रमुख खेमप्रसाद महतो र निवर्तमान नगरप्रमुख ठाकुर प्रसाद ढकाल सम्मिलित सर्वदलिय प्रतिनिधी मण्डलले प्रधानमन्त्री देउवासंग भेट गरी बाटो र बिजुलीको क्षेत्रमा निकुञ्ज सिर्जित अवरोधहरुबारे कुरा राखेको थियो ।

भेटमा प्रतिनिधीसभा अन्तरगत कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिका सभापति पूणर्कुमारी सुवेदी, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, राष्ट्रिय सभा सदस्य गंगा बेल्बासे लगायतको सहभागिता रहेको माडीका नगरप्रमुख महतोले जानकारी दिनुभयो ।