१ श्रावण, चितवन । डेनिस स्वयम्सेवी संस्था जे.वाई.एस.के. (भिलेज डेभलपमेन्ट इन नेपाल)ले माडीका दुई स्वास्थ्य संस्थाहरुका लागि पठाएको प्रसुती सैय्या (बर्थिङ बेड) माडी आइपुगेको छ ।
माडीको अयोध्यापुरी स्वास्थ्य चौकी र बघौंडा अस्पतालका लागि डेनमार्कबाट पठाइएको एक/एक वटा अत्याधुनिक बर्थिङ बेड आइतबार माडी आइपुगेको हो । दुबै बेडहरु हाल बघौंडा अस्पतालमा पुर्याइएको एकीकृत समावेशी दीगो विकास परियोजनाका सचिव गोबिन्द पन्तले जानकारी दिनुभयो ।
प्रसुती बेडहरु उपलब्ध भएसंगै माडीमा सुरक्षित प्रसुती सेवा प्रदान गर्न सहयोग पुग्ने डेनिस संस्थाकी प्रमुख लोने पिटर्सनको भनाई छ । करीब एक बर्षअघि नै डेनमार्कबाट पठाइएपनि लामो समयसम्म कलकत्ता बन्दरगाहमा स्टोर हुन पुगेका दुबै बर्थिङ बेड सकुशल गन्तव्यस्थल पुगेका हुन् ।
डेनिस संस्था जे.वाई.एस.के.ले एकीकृत समावेशी दीगो विकास परियोजना नामको स्थानीय संस्थासंग सहकार्य गर्दै करीब एक दशकदेखि माडी-८ का विभिन्न गाउँहरुमा शुद्ध खानेपानी वितरण एवं आयआर्जन, प्राङ्गारिक खेती, शिक्षा, स्वास्थ्य र पुस्तकालय लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।