१ श्रावण, चितवन । नयाँ आर्थिक बर्ष २०७९/८० को सुरुवातसंगै माडी नगरपालिकाले सम्पत्ती करको भुक्तानी वडामै लिने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।
गत जेष्ठ १७ गते सम्पन्न नगरपालिकाको पहिलो कार्यपालिका बैठकले निर्णय गरेबमोजिम (आज) श्रावण १ गतेदेखि घरजग्गाको तिरो वा मालपोतजन्य एकीकृत सम्पत्ती कर वडाबासीहरुले आ-आफ्नै वडा कार्यालयहरुबाट तिर्न पाउने व्यवस्था गरेको हो ।
यस सम्बन्धमा सम्पती कर दाखिला गर्न वडा कार्यालयहरू जाने सेवाग्राहीले करदाताको विवरण अद्यावधिक गर्ने प्रयोजनका लागि अनिवार्य रुपमा करदाताको नागरिकता (वा नगरिकताको प्रतिलिपी) लिएर आउन भनिएको छ ।
यसअघि सो कर तिर्न नगर कार्यपालिका कार्यालय बसन्तपुरमै पुग्नुपर्ने अवस्था रहेको थियो । स्थानीय निर्वाचनको समयमा हालका नगरप्रमुख ताराकुमारी काजी महतोले नगरपालिकाको सेवा वडा कार्यालयहरुबाटै प्रवाह गर्ने एजेण्डालाई प्राथमिकतामा राख्नुभएको थियो ।