कृषि र कृषक पोष्ट

माडी नगरक्षेत्रका जमीनलाई कृषि-भूमि वा गैर कृषि-भूमिका रुपमा बर्गिकरण गर्ने प्रकृया सुरु

३ श्रावण, चितवन । माडी नगरक्षेत्रका जमीनलाई कृषि-भूमि वा गैर कृषि-भूमिका रुपमा बर्गिकरण गर्ने प्रकृया सुरु भएको छ ।

यस प्रकृयाको प्रारम्भीक काम अन्तरगत हरेक वडाबाट कृषि-भूमि वा गैर कृषि-भूमिको चारकिल्ला तोक्नका लागि वडास्तरीय कार्यदल गठन भएको छ ।

नगरप्रमुख तारा काजी महतोको अध्यक्षतामा मंगलबार सम्पन्न स्थानीय भूउपयोग परिषद्को बैठकले हरेक वडामा वडाध्यक्षको नेतृत्वमा ४ जना वडा सदस्यहरु, नगर कार्यपालिकाबाट खटिने १ जना अमिन र भूमि सम्बन्धी फाँट हेर्ने कर्मचारी विवेक खनाल सम्मिलित वडास्तरीय कार्यदलहरु गठन गर्ने निर्णय गरेको हो ।

वडास्तरबाट प्रस्तावित भई आएको चारकिल्लालाई नगरप्रमुख नेतृत्वको स्थानीय भूउपयोग परिषद्को बैठकले कार्यपालिका बैठकमा प्रस्ताव गर्ने र कार्यपालिका बैठकबाट कृषि-भूमि वा गैर कृषि-भूमिको रुपमा जमिनको बर्गिकरण हुने व्यवस्था रहेको माडीका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालले जानकारी दिनुभयो ।

हाल कृषि र गैर कृषि क्षेत्रका रुपमा जग्गा वर्गीकरण नगरिएको जग्गा मालपोत कार्यालयले रोक्का गर्न नमानेको अवस्था छ । स्थानीय सरकारले जमीनको वर्गीकरण गरेपछि मात्रै बैंक, वित्तीय संस्था वा सहकारी संस्थाबाट जग्गाको धितो-बन्धक पारित हुने वा खण्डिकरण गर्न मिल्ने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको परिपत्रमा उल्लेखित छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार