चितवन । निकुञ्जभित्र प्रस्तावित धुलोरहित सडक, बैंकल्पिक भूमिगत केबुल र पूर्वी माडीको हुलाकी सडकको स्थलगत अवलोकनका लागि वन मन्त्री सम्मिलित टोली माडी आइपुगेको छ ।
निकुञ्जका कारण अवरुद्ध वा प्रभावित हुनपुगेका विकासे परियोजनाहरुको अवस्था र त्यसलाई सुचारु गराउन आवश्यक पहलका लागि वन तथा वातावरण मन्त्री प्रदीप यादव, सो मन्त्रालयका सचिव डा. पेम नारायण कँडेल, निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेल, हुलाकी सडक विभागका महानिर्देशक धर्मेन्द्र कुमार झा, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य सम्मिलित टोली माडी आएको हो ।
माडी क्षेत्रका साँसद समेत रहनुभएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलमा माडी आइपुगेको सो टोलीमा भरतपुर महानगरपालिकाकी नगरप्रमुख रेणु दाहाल, माडीका नगरप्रमुख तारा काजी महतो, माडीका निवर्तमान मेयर ठाकुर प्रसाद ढकाल, नेकपा (माओवादी केन्द्र) माडीका सचिव नेत्र काफ्ले लगातयको सहभागिता रहेको जनाइएको छ ।
शनिवार बिहान भरतपुर आइपुगेको टोलीले सुरुमा चितवन राष्ट्रिय निकुञ्जभित्र सडकको अवस्था र भूमिगत बिजुलीको केबुलबारे छलफल गरेको थियो । त्यहाँबाट पूर्वी माडीको हुलाकी सडक निर्माणस्थल पुगी सडक निर्माणको स्थलगत अनुगमन गरेको हो ।